सुनारखी न्युज/ काठमाडौं ।
नेपाली कांग्रेसले संसदीय समितिको नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिले पार्टी सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्न समय मागेपछि बैठक केहीबेरलाई स्थगित भएको छ ।
कार्यदलको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्रीको नाम नराख्ने हो भने उनको नाम जोडिएको सहकारीको छानबिनबारे नयाँ प्रस्ताव ल्याएको कार्यदल सदस्य एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
उनले भने, ‘यसबारे गृहमन्त्रीसँग पनि छलफल गर्नुपर्ने हुन्छ, त्यसैले केहीबेर बैठक रोकेका छौं ।’
सूर्यदर्शन लगायतका सहकारीको रकम अपचलनमा गृहमन्त्रीको संलग्नताबारे छानबिनका लागि संसदीय समिति माग गर्दै कांग्रेस लगातार संसद् अवरुद्ध गर्दै आएको छ । समिति बनाउन सहमत प्रमुख दलहरूले कार्यादेश बनाउन कार्यदल बनाएका थिए । सत्तारुढ दलहरूले समग्र सहकारीको छानबिन गर्ने कार्यादेश प्रस्ताव गरेको थियो भने कांग्रेसले लामिछाने गृहमन्त्री भएपछि छानबिन रोकिएकाले नाम नै उल्लेख गरेर जानुपर्ने बताएको थियो ।