२०८१ मंसिर १० , सोमवार

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सीईओ खनालले थाले काम

RBB Ceo Divendra Khanal

सुनाखरी न्युज/ काठमाडौं।

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) देवेन्द्ररमण खनालले शुक्रबार  बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सञ्चालक समितिको मिति जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम ३ को व्यवस्था बमोजिम खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।

पदभार ग्रहणको अवसरमा खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यन्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्र्दै सबै सरोकारवालाले पाउने हिस्सामा बृद्धि हुने गरी कार्य गरिने बताए । चार्टड एकाउन्टेन्ट खनाल यसअघि बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृत थिए । २०६४ सालमा चार्टड एकाउन्टेन्टको रुपमा प्रवेश गरेका खनालले व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा एलएलबी तहको अध्ययन पूरा गरेका छन् ।

यस अघि रिक्त रहेको बैंकको प्रमुख कार्यकारी अधिकृतको पदमा खुला प्रतिस्पर्धाबाट छनौट गरी नियुक्त गर्नका लागि बैंकले २०८१.०१.०७ गते दरखास्त आवेदन माग गरेको थियो ।