२०८१ मंसिर १० , सोमवार

सेयर र घरजग्गा कारोबार बढाउन अर्थ मन्त्रालयले बढायो पहल

Governor artha mantri

सुनारखी न्युज/ काठमाडौं ।

मौद्रिक नीतिको तेस्रो समीक्षाका लागि नेपाल राष्ट्रबैंकले तयार गरेको प्रस्तावमा बैंकहरूलाई सेयर बिक्री गर्ने व्यवस्थामा सहजीकरण गर्ने विषय उल्लेख थिएन ।
सवारीसाधन तथा घरजग्गा कारोबारलाई सहज हुने नीति यसअघि नै लिइएकाले त्यसमा थप लचक बन्न सकिन्छ कि सकिन्न भन्नेमा राष्ट्र बैंककै अधिकारीहरू अलमलमा थिए ।

मौद्रिक नीतिको समीक्षाका लागि भएका छलफलहरू कतैबाट उठ्दै नउठेको बैंक तथा वित्तीय संस्थाले पूँजीकोषको २० प्रतिशतसम्मको सेयर बेच्न पाउने व्यवस्था बोर्डले पारित गरेपछि उनीहरू अचम्मित भएका थिए ।

विगतमा सेयर, घरजग्गा तथा अटोका क्षेत्रमा जाने कर्जाका विषयमा अत्यन्तै अनुदार गभर्नर महाप्रसाद अधिकारी अघिल्ला अर्थमन्त्री डा. प्रकाशशरण महतका बेलामा ती क्षेत्रमा लचकता अपनाउन अनिच्छुक देखिएका थिए । महतले ती क्षेत्रलाई राहत हुने गरी मौद्रिक नीतिमा परिमार्जन गराउन निकै ठूलो संघर्ष गर्नु परेको थियो । तर, अहिले भने अर्थमन्त्रीको चाहनामा सेयर, घरजग्गा तथा अटोलोनसम्बन्धी व्यवस्थामा लचकता देखाइएको राष्ट्र बैंककै एक अधिकारीले बताए ।

अर्थतन्त्रमा आएको मन्दीको प्रमुख कारण घरजग्गा र सेयर कारोबारमा आएको गिरावट पनि भएको राष्ट्रबैंकले स्वीकार गरेको छ । लामो समयसम्म घरजग्गा कारोबार र सेयर बजारमा आएको मन्दीले समग्र अर्थतन्त्रमा शिथिलता देखिएका कारण मन्त्रालयकै आग्रहमा राष्ट्र बैंकले मौद्रिक समीक्षामार्फत सहजीकरण गरेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।

मौद्रिक नीतिको तेस्रो समीक्षा बैठकमा बैंक तथा वित्तीय संस्थाले एक वर्ष नाघेको लगानीबाट एक आर्थिक वर्षमा बिक्री गर्न पाउने सीमा प्राथमिक पूँजीकोषको २० प्रतिशतसम्म कायम गरिएको छ । यसअघि यस्तो सीमा पूँजीकोषको एक प्रतिशत मात्रै थियो ।

 

यसअघि अर्थमन्त्रीमा नियुक्त भएलगत्तै वर्षमान पुनले सेयर बजार सुधारका लागि गर्नुपर्ने कामका बारेमा धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एण्ड क्लियरिङसँग सुझाव माग गरेका थिए ।

मन्त्री पुनको सक्रियतापछि ब्रोकर कमिसन घटिसकेको छ । बजारमैत्री व्यवस्थाका लागि मन्त्री पुनको सक्रियतालाई राष्ट्र बैंकका गभर्नर अधिकारीले पनि साथ दिइरहेको स्रोतको भनाइ छ ।