२०८१ पुष १४ , आइतवार

ट्राफिक कारबाहीमा परेकालाई प्रहरीले स्वयंसेवक बनाएर खटायो सडकमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौँका विभिन्न स्थानबाट पछिल्लो समय मापसे ( मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको छ । गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री रवि लामिछानेले सो घोषणा गरेका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले बुधबारदेखि सचेतना कक्षा लिनुपर्ने किसिमका कारबाहीमा परेकाहरुलाई एक घण्टा ट्राफिक स्वयंसेवकको रुपमा खटाउन थालेको एसएसपी जीवन श्रेष्ठले बताए ।

‘गृह मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार आजबाटै कार्यान्वयनमा गइसकेका छौं, बिहान ९ बजेदेखि ५ बजेसम्म उहाँहरुले सडकमा ट्राफिक व्यवस्थापन गर्नुहुनेछ’, श्रेष्ठले भने, ‘सिंहदरबार गेट, माइतीघर, भद्रकाली, पुतलीसडक, पद्मोदय मोड, सातदोबाटो चोक लगायतमा उहाँहरु खटिनुभएको छ ।’

बुधबार मात्र ६०४ जनाले उपत्यकाका विभिन्न चोकमा स्वयंसेवकका रुपमा ट्राफिक व्यवस्थापन गरेका छन् ।