२०८१ मंसिर ७ , शुक्रवार

९ दिनपछि हाजिर जमानीमा छुटे कैलाश कान्तिपुरका अध्यक्ष सिरोहिया

kailash-sirohiya

सुनाखरी न्युज/ काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ ।

 

जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको एक प्रहरी अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालय, धनुषाका एक अधिकारीले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको बताएका छन् ।

८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार भइरहेको छ ।

 

सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिंदा जिल्ला अदालत, धनुषाले उनको स्वास्थ्य अवस्थालाई देखाउँदै उपयुक्त अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउन उपयुक्त हुने आदेश दिएको थियो । साथै अनुसन्धानमा ढिलाइ नगर्न प्रहरीलाई सचेत पनि गराएको थियो ।

 

 

सिरोहियाको नागरिकता नम्बर राख्ने क्रममा फाँटवाला कर्मचारीले गरेको त्रुटिमा सेवाग्राही जिम्मेवार नहुने देखिएको पाइएपछि उनलाई हिरासतमुक्त गरेको सिरोहियाका तर्फबाट जिल्ला अदालतमा बहस गरेका अधिवक्ता रमण कर्णले बताएका छन् ।