२०८१ मंसिर ३ , सोमवार

बालेन माथि एक्सन लिँदै सडक डिभिजन कार्यालय

balen-and-sunita

सुनाखरी न्युज/ काठमाडौं ।

सडक डिभिजन कार्यालय, काठमाडौंले काठमाडौं महानगरपालिकालाई न्यूरोडस्थित जुद्ध शालिक-इन्द्रचोक सडक खण्ड दुई दिनभित्र यथास्थितिमा पुनर्स्थापना गरिदिन भनेको छ।

महानगरले भत्काएको सडक नबनाए सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन बाध्य हुने समेत डिभिजन कार्यालयले बताएको छ।

डिभिजन प्रमुख नारायणदत्त भण्डारीले बुधबार  काठमाडौं महानगरका नाममा एक पत्र जारी गर्दै भत्काएको सडक दुई दिनभित्र बनाइदिन अनुरोध गरेका हुन्।

डिभिजन कार्यालयका अनुसार यसअघि पनि महानगरलाई उक्त सडक खन्न र भत्काउन रोकेर पुनर्स्थापना गरिदिन भनिएको थियो। उक्त काम सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ को बर्खिलाप देखिएकाले तुरून्त रोकी सडक यथास्थितिमा पुनर्स्थापना गरिदिन फेरि अनुरोध गरिएको थियो। तर हालसम्म काम नभएको भन्दै डिभिजन कार्यालयले महानगरलाई दुई दिनको समय दिएको हो।