२०८१ कार्तिक १६ , शुक्रवार

इरानका पूर्वराष्ट्रपति अहमदीनेजादद्वारा नयाँ राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इरानका कट्टरपन्थी पूर्वराष्ट्रपति महमुद अहमदीनेजादले यसै महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराउनुभएको छ ।गत मे १९ मा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका राष्ट्रपति इब्राहिम राइसीको स्थानमा आगामी जुन २८ मा मतदान हुँदैछ ।

सन् २००५ देखि २०१३ सम्म इरानी राष्ट्रपतिका रूपमा लगातार दुई कार्यकाल सम्हालेका ६७ वर्षीय अहमदीनेजादले विशेष गरी इरानको आणविक कार्यक्रम र इजरायलको बारेमा उहाँको भड्काउपूर्ण टिप्पणीलाई लिएर पश्चिमा मुलुकहरूसँगको सम्बन्धमा गतिरोध देखिएको थियो ।राष्ट्रपतिपदका सबै आकाङ्क्षीहरूजस्तै उहाँको उम्मेदवारी पनि सार्वजनिक पदका लागि सबै उम्मेदवारहरूको निगरानी गर्ने १२ जना न्यायविद्हरूको रूढिवादी प्रभुत्व भएको संस्था गार्जियन काउन्सिलको अनुमोदनको पर्खाइमा छ ।यसअघि सन् २०२१ र २०१७ को चुनावमा राष्ट्रपतिको दौडमा भाग लिनका लागि अहमदीनेजाद अयोग्य घोषित हुनुभएको थियो ।

“राष्ट्रिय क्षमताको अधिकतम उपयोग गरेर देशका सबै समस्या समाधान गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु,” आइतबार गृह मन्त्रालयमा आफ्नो उम्मेदवारी दर्ता पेश गरेपछि उहाँले भन्नुभयो ।सन् २००५ मा, अहमदीनेजादले इरानको कट्टर शत्रु इजरायललाई ‘मानचित्रबाट सफाया’ गर्न लागेको र प्रलय एक ‘मिथक’ भएको बताएपछि उहाँले विश्वव्यापी बदनामी कमाउनुभएको थियो ।

सन् २००९ मा अहमदीनेजादको विवादास्पद पुनर्निर्वाचनको विरोधमा देशव्यापी विरोध प्रदर्शनहरू भए र राज्यको प्रतिक्रियाले दर्जनौंको मृत्यु भयो र हजारौं गिरफ्तारीहरू भए ।राष्ट्रपति पदको उम्मेदवारी दर्ताका लागि बिहीबार दर्ता खुला भएको थियो भने सोमबार बन्द हुनेछ ।संसदका पूर्व सभामुख अली लारिजानी, पूर्व आणविक वार्ताकार सइद जलीलीलगायत अन्य प्रमुख व्यक्तित्वले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।गार्जियन काउन्सिलले आफ्नो परीक्षण प्रक्रिया पूरा गरेपछि जुन ११ मा उम्मेदवारको अन्तिम सूची सार्वजनिक गर्नेछ । रासस