२०८१ मंसिर ३ , सोमवार

कृषि सामग्री अनुदानमा वितरण गर्दै इच्छाकामना

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरेको छ । सुन्तलाखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि सामग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लोकप्रिया कृषि सहकारी र पिपलडाँडा–धुषाडाँडा कृषि समूहमा आवद्ध २० जना किसानलाई कृषि सामग्री हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिकाका कृषि शाखाका प्रमुख आशिष त्रिपाठीका अनुसार म्यानुअल पम्प ट्याङ्की, डिजिटल तराजु, किरेट, पाइप, भर्‍याङलगायत सामग्री वितरण गरिएको हो । उहाँले सुन्तलाखेती प्रवर्द्धन गर्न पालिकाले किसानलाई प्रोत्साहन र आकर्षित गर्ने विभिन्न कार्यक्रम गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार पालिकाले गत आवमा तीनदिने सुन्तला महोत्सव आयोजना गरेको थियो ।

किसानलाई सुन्तलाको बेर्ना अनुदानमा वितरण गर्ने योजना रहेको त्रिपाठीले बताउनुभयो । किसानबाट माग भएअनुसार १० हजार कलमी र १६ हजार बिजु बिरुवा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय सुन्तलाखेती गर्ने किसान बढ्दै गएकाले बढी उत्पादन हुने स्थानमा नयाँ बगैँचाका लागि सहयोगका कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ छ ।

पालिकाले वडा नं ३ फिस्लिङमा कृषि भवन निर्माण गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । उक्त भवनमा कृषिजन्य उत्पादनको सङ्कलन, चिस्यान केन्द्र तथा पाहुना घर सञ्चालन गरिने उहाँको भनाइ छ । गाउँपालिकाले कृषिजन्य उत्पादनलाई बजारीकरण समेत सहयोग गर्ने उहाँले बताउनुभयो ।  रासस