२०८१ कार्तिक २१ , बुधवार

मेक्सिकोको पहिलो महिला राष्ट्रपति –निर्वाचित सेनबामलाई राष्ट्रपति बाइडेनको बधाई

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रुपमा सरकारको नेतृत्व गर्ने ऐतिहासिक जीतका लागि क्लाउडिया सेनबामलाई बधाई दिनुभएको छ ।“म क्लाउडिया सेनबामलाई मेक्सिकोको पहिलो महिला राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उहाँको ऐतिहासिक जितका लागि बधाई दिन चाहन्छु“, बाइडेनले सोमबार एक विज्ञप्तिमार्फत भन्नुभयो ।

“ हामी दुई देशहरू बिचको स्थायी बन्धनलाई प्रतिबिम्बित गर्ने साझेदारी र मित्रताको भावनामा राष्ट्रपति–निर्वाचित सेनबामसँग नजिकबाट काम गर्न उत्सुक छौँ। हाम्रा जनताको हितका लागि दुवै राष्ट्रको मूल्य र हितलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्दछु “, उहाँले भन्नुभयो ।यसबाहेक, बाइडेनले मेक्सिकन जनतालाई राष्ट्रव्यापी लोकतान्त्रिक चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिनुभयो । “स्थानीय, राज्य र सङ्घीयस्तरमा बीस हजार भन्दा बढी पदका लागि भएको राष्ट्रव्यापी सफल लोकतान्त्रिक निर्वाचन प्रक्रिया सञ्चालन गरेकोमा म मेक्सिकन जनतालाई पनि बधाई दिन चाहन्छु।“ राष्ट्रपति बाइडेनले बताउनुभयो।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मेक्सिकोको अर्को राष्ट्रपतिको रूपमा निर्वाचित हुनुभएकोमा क्लाउडिया सेनबामलाई बधाई दिनुभयो र दुई देशबीचको साझेदारीलाई बलियो बनाउन सहकार्यका लागि उत्सुकता व्यक्त गर्नुभयो ।जलवायु वैज्ञानिक तथा मेक्सिको सहरकी पूर्व मेयर क्लाउडिया सेनबाम मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँ यो पद सम्हाल्ने यहुदी सम्प्रदायकी पहिलो यहुदी नेता पनि हुनभएको पोलिटिकोले जनाएको छ।

 

मेक्सिकोको निर्वाचन कार्यालयबाट प्राप्त प्रारम्भिक परिणामअनुसार ६१ वर्षीया सेनबामले लगभग ५८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।मतदाताहरूलाई समर्थनका लागि कृतज्ञता व्यक्त गर्दै सेनबामले यसलाई ऐतिहासिक क्षण रहेको बताउनुभयो । सेनबामले भन्नुभयो, “गणतन्त्रको दुई सय वर्षमा पहिलोपटक म मेक्सिकोको पहिलो महिला राष्ट्रपति बन्नेछु। हामीले पूर्ण रुपमा लोकतान्त्रिक मेक्सिको हासिल गरेका छौं ।“  रासस/एएनआई