२०८१ मंसिर १३ , बिहिवार

भारतमा मत मतगणनाको प्रारम्भिक अवस्थाः गठबन्धन सरकारको प्रवल संभावना

Modi Rahul

सुनाखरी न्युज/ काठमाडौं ।

भारतको लोकसभा निर्वाचनको मतगणना मंगलबार बिहानैदेखि चलिरहेको छ । अहिलेसम्म जम्मा तीन सिटको टुंगो लागेको छ, बाँकी ५४० मा गणना चलिरहेको छ ।

१० वर्ष भारत सरकारको नेतृत्व गरेको भारतीय जनता पार्टी (भाजपा) ले यो पटक ४०० पारको नारा दिएको थियो । २०१९ मा एक्लै ३०३ सिट जितेको भाजपा नेतृत्वको एनडीए गठबन्धनले ३५३ सिट जितेको थियो । त्यसैले भाजपा नेताहरुले यो पटक एनडीए गठबन्धनले ४०० सिट जित्ने दाबी गरेका थिए । मतदान सकिएको दिन सार्वजनिक भएका एक्जिट पोलहरुमा समेत एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म जित्ने दाबी गरिएको थियो ।

 

पछिल्लो समय एनडीए गठबन्धनको अग्रता बहुमत क्रस छ, तर ३०० पुगेको छैन । बीबीसी हिन्दीका अनुसार हाल २९५ सिटमा एनडीए गठबन्धनको अग्रता छ भने विपक्षी गठबन्धनको २३१ र अरुको १७ सिटमा अग्रता छ ।

 

पछिल्लो १० वर्षमा चुनाव अगाडि नै एनडीए गठबन्धन बनाएका कारण मोदी सरकारमा अरू दल पनि थिए, तर २०१४ र १०१९ मा भाजपा एक्लैले प्रष्ट बहुमत ल्याएको थियो । त्यसैले सरकार गठबन्धन सरकार जस्तो थिएन ।

यो पटक भाजपाको एक्लै बहुमत आउने छैन । जारी मतगणना अनुसार भाजपा २४२ सिटमा अगाडि छ ।

विपक्षी गठबन्धन बनाएको कांग्रेस १०० सिटमा अगाडि छ । अर्थात् भारतमा अब साँच्चैको गठबन्धन सरकार बन्नेछ ।

 

एनडीए गठबन्धनमा रहेका केही दलले कित्ता परिवर्तन गर्ने हो भने अर्को सरकार पनि बन्नसक्छ ।

 

लोकसभा चुनावमा कांग्रेसले ठूलो छलाङ मारेको छ । २०१४ मा ४४ सिट जितेको कांग्रेसले २०१९ मा ५२ सिट जितेको थियो ।

यो पटक विपक्षी दलहरुसँग मिलेर इण्डिया गठबन्धन बनाएको कांग्रेसले ठूलो फड्को मार्ने पक्का देखिएको छ । हाल कांग्रेस १०० सिटमा अगाडि छ ।