२०८१ मंसिर १० , सोमवार

आईसीसी टी२० विश्वकप: नेदरल्याण्ड्ससँग नेपाल पराजित

icc

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल  आईसीसी टी२० विश्वकप २०२४ अन्तर्गत समूहको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए ।

त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९।२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।

एक दशकपछि दोस्रो पटक टी २० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो । तर एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ राम्रो हुन सकेन ।

चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपनि गतिलो साथ पाउन सकेनन् ।