२०८१ मंसिर ८ , शनिवार

‘एनिमे, भिडियो गेम’लगायत क्षेत्रमा विदेशी बजार चार गुणा बढाउने जापानको लक्ष्य

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पप–संस्कृतिको लागि प्रसिद्ध मानिने जापानले करिब एक दशकमा भिडियो गेम, मान्गा र हातले कोरिएको चित्र वा कम्प्युटरद्वारा बनाइएको जापानी एनिमेसन (एनिमे)को विदेशी बजार चार गुणा बढाएर एक सय तीस अर्ब डलर पुरÞ्याउने लक्ष्य राखेको सरकारले जनाएको छ ।

‘ड्र्यागन बल’, ‘सुपर मारियो’ र ‘फाइनल फ्यान्टसी’जस्ता खेलहरूको उद्गमस्थल र हास्य र कार्टुनका लागि प्रसिद्ध जापानले रचनात्मक उद्योगलाई राष्ट्रिय विकासको मुख्य श्रोतको रूपमा लिएको छ ।जापानले मङ्गलबार जारी गरेको संशोधित आर्थिक रणनीति ‘कुल जापान’ अन्तर्गत सरकारले सन् २०३३ सम्ममा यी सांस्कृतिक सम्पत्तिको निर्यातलाई २० ट्रिलियन येन (करिब एक खर्ब ३० अर्ब अमेरिकी डलर) पु¥याउने लक्ष्य राखेको बताएको छ ।

हालका वर्षहरूमा, एनिमे र मान्गाजस्ता सामग्रीले विश्वको ठूलो जनसङ्ख्यामा युवा दर्शकहरूलाई आकर्षित गर्न अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको रणनीतिको दस्तावेजमा जनाइएको छ ।यी क्षेत्रहरु साथै फेसन, कस्मेटिक्स र ‘इनबाउन्ड टुरिजम’लगायतका सम्बन्धित उद्योगहरूको वृद्धिलाई मिलाएर जापानले सन् २०३३ सम्ममा ५० ट्रिलियन येनको आर्थिक लाभको लक्ष्य राखेको छ ।

यस रणनीतिमा अङ्ग्रेजी र भियतनामीलगायत भाषाहरूमा अवैध रूपमा एनिमे र मान्गा निःशुल्क वितरण गर्ने पाइरेसी वेबसाइटहरूमाथि कडा कारबाही गर्ने योजना पनि समावेश रहेको छ ।विश्वव्यापी बजार विस्तार गर्न पाइरेसी वेबसाइटविरुद्धको उपायलाई सुदृढ पार्न आवश्यक रहेको ‘कुल जापान’ रणनीतिमा उल्लेख गरिएको छ ।  रासस/एएफपी