२०८१ मंसिर २ , आइतवार

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने प्रचण्डको तयारी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन दिल्ली जाने तयारी गरेका छन्।मोदीको शपथ शनिबार दिल्लीमा हुँदैछ। हिजो साँझ भएको फोनवार्तामा मोदीले शपथ ग्रहणका बेला उपस्थित हुन प्रधानमन्त्रीलाई निम्तो गरेका थिए।

सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री प्रचण्डले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा शुभकामना व्यक्त गरेका थिए। प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए।

‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । उहाँको न्यानो शुभकामनाको लागि उहाँलाई धन्यवाद व्यक्त गरेँ। भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौं,’ प्रधानमन्त्री मोदीले भनेका थिए।

लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ।प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार पदबाट राजीनामा दिएका छन्। योसँगै मोदी तेस्रो पटक प्रधानमन्त्री हुन लागेका हुन्।