सुनाखरी न्युज/ काठमाडौं ।
यमनको दक्षिणपश्चिम क्षेत्रमा सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीबीच भएको भिडन्तमा कम्तीमा १८ लडाकूको मृत्यु भएको सैनिक अधिकारीले बिहीबार एएफपीलाई जानकारी दिएका छन् ।सरकारसम्बद्ध पृथकतावादी समूह र दक्षिणी सङ्क्रमणकालीन परिषद्का प्रवक्ता मोहम्मद अल–नकिबका अनुसार लाहिज प्रान्तको सरकार नियन्त्रित भाग र ताइज प्रान्तको हुथी नियन्त्रित प्रभावित क्षेत्रमा हुथीले आक्रमण गरेपछि बुधबार झडप भएको हो ।
सन् २०२२ को अप्रिलमा संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको छ महिना लामो युद्धविरामको समयावधि सकिएपछि जारी द्वन्द्वमा कमी आएको थियो तर अकस्मात यो आक्रमण भएको छ ।नकिबले एएफपीसँग भन्नुभयो, “यमनको सरकारी सेनाले आक्रमणलाई प्रतिकार गर्न सफल भएको छ, तर पाँच सैनिकले शाहदत प्राप्त गरेका छन् र अन्य केही घाइते भएका छन् ।”ताइजस्थित हुथी सेनाका एक अधिकारीले एएफपीलाई दिएको जानकारीअनुसार एक वरिष्ठ कमाण्डरसहित १३ जना विद्रोही मारिएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले हुथी आक्रमणलाई ‘विश्वासघाती आक्रमण’ को संज्ञा दिएको छ ।बुधबार सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै सूचना मन्त्री मोअम्मर अल–एरियानीले यमनको सरकारी सेनाको जवाफी आक्रमणले हुथी लडाकूहरूलाई ठूलो क्षति पुर्याएको बताउनुभएको छ ।यमनमा युद्धविराम सहमतिपछि शत्रुता कम भएपनि देशका केही भागहरूमा कहिलेकाहीँ छिटपुट लडाइँहरू भड्किएका छन् ।
गत अप्रिलमा हुथी विद्रोहीसमूहले लाहिज प्रान्तमा गरेको आक्रमणमा यमन सरकारप्रति वफादार ११ जना लडाकू मारिएका थिए ।हुथी विद्रोहीले सन् २०१४ मा यमनको राजधानी सानालाई आफ्नो नियन्त्रणमा लिएपछि त्यसको अर्को वर्ष साउदी अरबको नेतृत्वमा सैन्य हस्तक्षेप भएको थियो ।नौ वर्षको युद्धको प्रत्यक्ष र अप्रत्यक्ष कारणले हजारौँको मृत्यु भएको छ र यसले संसारको सबैभन्दा खराब मानवीय सङ्कट निम्त्याएको छ ।
गत डिसेम्बरमा यमनका लागि संयुक्त राष्ट्रसङ्घका दूत हान्स ग्रुन्डबर्गले युद्धरत पक्षहरूले नयाँ युद्धविरामका लागि प्रतिबद्धता जनाएको र द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा शान्ति प्रक्रियामा संलग्न हुन सहमत भएको बताएका थिए ।तर गत नोभेम्बरदेखि रेड सीमामा हुथीले पानीजहाजमा गरेको आक्रमणपछि शान्ति प्रक्रिया अवरुद्ध भएको छ, यो अभियान गाजा युद्धका बीच प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउन गरिएको आक्रमण भएको विद्रोहीहरूले बताएका छन् ।हुथी विद्रोहीले गाजा युद्धको फाइदा उठाउँदै लडाकू, हातहतियार र बन्दोबस्तीका सामान जम्मा गरेको मन्त्री एरियानीले दावी गर्नुभयो । रासस/एएफपी