सुनाखरी न्युज/ पोखरा ।
नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले प्रदेश सभा जोगाउन र मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।
प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत लिँदा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित भएका देवकोटाले फ्लोर क्रस गरेका थिए । यससँगै मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै देवकोटाले प्रदेश सभालाई बचाउन पार्टीको निर्णय अनुसार विश्वासको मत दिएको बताए ।
१५र१६ महिनामै चार पटकसम्म सरकार फेरबदल भएपछि गण्डकी प्रदेश सभा रहने कि नरहने भन्ने चुनौती आफूले देखेको उनले बताए ।
उनले भने, ‘पछिल्लो चरण हामी माननीयलाई थाहा नै नदिइ संख्या गणना गरेर सरकार फेरबदल हुनेतिर गयो । त्यसपछाडि गम्भीर शंका लाग्यो, गण्डकी प्रदेश बर्बादीतिर जाँदैछ ।’
त्यसका बाबजुद आफूले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत दिएको भए पनि सरकार नजोगिएको उनले बताए । उनले भने त्यसका लागि अरू शक्ति पनि आउनुपर्थ्यो , मुख्यतः राप्रपा आउनुपर्थ्यो, आएन ।’
तर अहिले निर्णायक रहेका पार्टीहरूले पनि साथ दिएको बेला आफूले मत दिँदा सरकारसँगै प्रदेश सभा जोगिने देखेको उनले बताए । गण्डकी प्रदेश सभा बचाउनु मेरो दायित्व सम्झेर मैले पार्टी केन्द्र र प्रदेशको निर्णय मुताविक मत दिएको हुँ ।’