सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी एमाले) काठमाडौँ जिल्ला कमिटीको सातौँ अधिवेशनमा नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ ।सहमतिमा नेतृत्व चयन हुन नसकेपछि उम्मेदवारी दर्ता भई आज मध्याह्न १२ बजेदेखि विद्युतीय उपकरणमार्फत मतदानको तयारी भएको जिल्ला कमिटीका अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो ।
अध्यक्ष पदका लागि निरौला र निर्मल देउवाबीच प्रतिस्पर्धा हुँदैछ भने उपाध्यक्षमा विश्वराम सापकोटा, नमराज पराजुली, नवराज भट्ट र विदुरविक्रम खड्काले उम्मेदवारी दिनुभएको छ । यस्तै सचिवमा राजेश शाक्य र सत्यनारायण डङ्गोल तथा उपसचिवमा उद्धव भण्डारी, विन्दु मर्हजन, गुञ्जमान सिंह बस्नेत र तारा भण्डारीको उम्मेदवारी दर्ता भएको छ ।
अधिवेशनले पदाधिकारीसहित दुई सय २५ सदस्यीय जिल्ला कमिटी र सात सदस्यीय लेखासमिति निर्वाचित गर्नेछ । अधिवेशनमा पाँच सय ८५ प्रतिनिधि छन् भने बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । अधिवेशनको यही जेठ २६ गते एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । रासस