सुनाखरी न्युज/ काठमाडौं ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले वर्तमान सरकारले मुलुकको आवश्यकता र जनताको हितमा काम गरिरहेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकारमा रहुञ्जेल नागरिकलाई दुःख नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री लामिछानेले विभिन्न सङ्घर्ष र बलिदानबाट प्राप्त व्यवस्थालाई आत्मसाथ गर्दै नागरिकको सपनालाई साकार पार्न अहिलेको व्यवस्थाप्रति कटिबद्ध भएर लागेको बताउनुभयो । ‘सबै गर्न सकिदैन तर, धेरै गर्न सकिन्छ’ भन्ने आस र भरोसाकासाथ आफूहरु अघि बढेको उहाँले बताउनुभयो ।
“तीन महिना सरकारमा बसेर मेरो पार्टीबाट मन्त्रि बनेकाहरुले एउटा पनि नराम्रो काम गरेका छैनन्, राम्रा काम भएका छन्”, उपप्रधानमन्त्री लामिछानेले भन्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहनुभएका उहाँले प्रदेश संरचनालाई लिएर धेरै प्रश्नहरु उब्जिएकाले संविधानको भावना र परिकल्पना अनुरुप प्रदेश सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।
“प्रदेश संरचनालाई लिएर धेरै जिज्ञाशा उब्जिएका छन् । यसमा सुधार गरेर अघि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । उपप्रधानमन्त्री लामिछानेले नागरिकलाई दुःख नदिइकन परिवर्तनका लागि आफूहरु मुद्दामा एक भएर अगाडि बढ्ने धारणा राख्नुभयो । रासस