२०८१ मंसिर ३ , सोमवार

जिल्ला न्यायाधीश छनोटका लागि भएको लिखित परीक्षामा ४२ जनामा १२ पास

writing

सुनाखरी न्युज/ काठमाडौं ।

४२ जना जिल्ला न्यायाधीश छनोटका लागि खुला प्रतिस्पर्धाबाट  भएको लिखित परीक्षामा जम्मा १२ जना मात्र उतीर्ण भएका छन् । लोकसेवा आयोगले लिएको लिखित परीक्षामा २०३ जना सहभागी भएकामा १२ जना मात्र उतीर्ण भएका हुन् ।

न्याय सेवामा कार्यरत कर्मचारीहरुका लागि मात्रै सीमित गरिएको २१ सिटमा ४ जनामात्रै लिखित परीक्षामा पास भएका छन् । खुला प्रतिस्पर्धाका लागि १२ सिट छुट्याइएकोमा ७ जना पास भएका छन् । आदिवासी जनजातिका लागि २ जनाको सिट रहेकोमा एकजना पास भएका छन् । महिला, मधेशी, दलित र अपाङ्ग कोटामा कोही पनि पास भएका छैनन् ।

लिखित परीक्षामा उतीर्ण भएकाहरुमा अञ्जनराज सापकोटा, कमलकान्त जोशी, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई, बसन्तराज जोशी र मनिराम ज्ञवाली छन् ।

 

तोकिएको सिटभन्दा धेरै कम परीक्षार्थी मात्र लिखित परीक्षामा उतीर्ण भएकाले उनीहरु अन्तर्वार्ताबाट पनि छनोट हुने निश्चितजस्तै छ ।

खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुन नसकेका जिल्ला न्यायाधीशका बाँकी पद भने न्यायपरिषदले सरकारी कर्मचारीबाटै पदपूर्ति गर्ने भएको छ ।

गतवर्ष भदौमा पनि लोकसेवा आयोगले जिल्ला न्यायाधीशको परीक्षा लिएको थियो । त्यतिबेला २९ सिटका लागि भएको परीक्षामा पारसमणि पोखरेल मात्र उतीर्ण भएका थिए ।