२०८१ पुष १४ , आइतवार

असारका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

Bank

सुनाखरी न्युज/ काठमाडौं।

वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् । बैंकहरूले औसतमा ०.१२ प्रतिशत बिन्दुले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।

असारमा कृषि विकास, नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, स्ट्यान्डर्ड चार्टड र प्रभु बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा जेठकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।असारमा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा न्यून ब्याजदर कृषि विकास बैंकको ५.६६६१ प्रतिशत र एभरेस्ट बैंकको ५.७५ प्रतिशत छ ।

हिमालयन बैंकले भने व्यक्तित मुद्दती निक्षेपको ब्याजदर जेठमा ७.५ प्रतिशत तोकेकोमा असारमा बढाएर ८.२५ प्रतिशत पुर्‍याएको छ । पाँचदेखि १० वर्ष अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकले उक्त ब्याजदर दिने भएको हो ।यस्तै ब्याजदर बढाउनेमा नबिल बैंकले ६.७५ प्रतिशतबाट ७ प्रतिशत पुर्‍याएको छ । उसले पाँच वर्ष माथिको व्यक्तिगत मुद्दती निक्षेपमा उक्त ब्याजदर तोकेको हो ।

माछापुच्छ«े बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा तीन वर्षभन्दा माथि अवधिका लागि ७.५ प्रतिशत ब्याजदर दिने भएको छ । जेठमा अधिकतम ५.२६ प्रतिशत रहेको ब्याजदर बैंकले बढाएको हो ।राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सानिमा, सिटिजन्स, एनएमबी र एनआईसी एसिया बैंकले भने ब्याजदर घटाएका छन् ।