२०८१ मंसिर १३ , बिहिवार

काठमाडौं महानगरको नीति कार्यक्रमः नयाँ के छ ? (पूर्णपाठ सहित)

Balen-shaha-ktm-metro-police-1024×624

सुनाखरी न्युज/ काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम ल्याएको छ ।

महानगरपालिका प्रमुखमा निर्वाचित भएपछि बालेन्द्र साहले ल्याएको तेस्रो नीति तथा कार्यक्रममा सार्वजनिक सेवा, सम्पदा संरक्षण र रोजगारी मा जोड दिइएको छ ।

 

विश्वसम्पदा सूचीका सम्पदा मातहत ल्याउनेदेखि ‘नो भेहिकल जोन’सम्म

काठमाडौं महानगरपालिकाले न्यूरोड, हाँडीगाउँसहित प्राचीन तथा पुरातात्विक क्षेत्रलाई ‘नो भेहिकल जोन’ बनाउने घोषणा गरेको छ । विश्व सम्पदा सूचीमा रहेका बौद्धनाथ र स्वयम्भूनाथलाई काठमाडौं महानगरपालिकाअन्तर्गत ल्याएर सञ्चालन र व्यवस्थापन गर्न पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

नीति तथा कार्यक्रममा काठमाडौंलाई ‘ओपन एण्ड लाइभ म्यूजियम’ र ‘क्रिएटिभ सिटी’का रूपमा विकास गरिने उल्लेख रहेको छ । ‘उपत्यकाभित्र रात्रिकालीन सार्वजनिक सवारी साधन सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइनेछ ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक, सामाजिक, महत्वका मठ, मन्दिरलगायतका स्थानहरूको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्दै डिजिटल अभिलेख, मौलिक नामाकरण र नक्साङ्कन गरिने उल्लेख छ । महानगरका पर्यटकीय स्थलहरूलाई समेटी थिम बेस्ड टुरिज्मलाई प्रवर्द्धन गरिने पनि कार्यक्रममा उल्लेख छ ।

प्रमुख पर्यटकीय रुटमा पर्ने घरहरूको मोहडा लिच्छविकालीन तथा मल्लकालीन शैली झल्किने गरी निर्माण गर्न प्रोत्साहित गर्ने महानगरको नीति कार्यक्रममा रहेको छ ।

 

‘पार्ट टाइम’ रोजगारीदेखि व्यवसायीलाई कर छुटसम्म

काठमाडौं महानगरपालिकाभित्र विद्यार्थीलाई पढ्दै-कमाउँदै जाने अवधारणा लागू गरिने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम मार्फत महानगरपालिकाले ‘पार्ट टाइम’ काम गर्ने गरी रोजगारी सिर्जना घोषणा गरेको हो । काठमाडौं महानगरभित्र शैक्षिक संस्थाको चलअचल सम्पत्ति शैक्षिक प्रयोजनमा मात्र प्रयोग गरिने मेयर बालेनले बताए ।

महानगरभित्रका सामुदायिक सिकाइ केन्द्रलाई पुस्तकालयका रूपमा विकास गरिने समेत उनले बताए । निजी क्षेत्रका गैरसरकारी संस्थालाई पुस्तकालय विकासमा प्रोत्साहन गरिने समेत उनले बताए ।

विद्यालयको लेखा परीक्षण अब महानगरबाट गरिने उनले घोषणा गरे । काठमाडौं महानगरपालिकाभित्र कम्तीमा २० जनालाई प्रत्यक्ष रोजगारी दिने व्यवसाय सुरु गर्दा तीन वर्षको व्यवसाय करमा शतप्रतिशत छुट पाइने भएको छ । नयाँ दर्ता हुने व्यवसायीको हकमा यो नीति ल्याइएको उनले जानकारी दिए ।

काठमाडौं महानगरबाट कार्यान्वयन हुने विकास निर्माणका काममा कम्तीमा ३० प्रतिशत जनशक्ति महानगरको श्रम बैंकबाट आपूर्ति गरिने समेत उनले घोषणा गरे ।

महानगर पालिका क्षेत्रका सहरी सहकारी संस्थाको कारोबार विद्युतीय प्रणालीमा आबद्ध गरी प्रतिवेदन प्रणाली थप व्यवस्थित गराइने उनले बताए ।

 

अत्यावश्यक सेवा १६ घण्टा देखि होम डेलिभरी सरकारसम्म

महानगरले ल्याएको नीति तथा कार्यक्रममा सडकहरूको वैज्ञानिक तथा मौलिक नामाकरण गरी घर नम्बर प्रणालीलाई व्यवस्थित गरिने उल्लेख रहेको छ । ‘महानगर क्षेत्रभित्र कुरियर सेवाको लागि मेट्रो पोष्ट सञ्चालन गरिने उल्लेख गरिएको छ । होम डेलिभरी सरकारको अवधारणा अनुरुप सेवा प्रवाहलाई घरघरमा पुर्‍याइनेछ,’ नीति कार्यक्रममा भनिएको छ ।