सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौंको गर्मी ३५ वर्षयताकै उच्च भएको छ । शनिबार काठमाडौंको अधिकतम तापक्रम ३५.३ डिग्री सेल्सियस रेकर्ड भएको छ । यो २०४६ सालयताको सबैभन्दा उच्च अधिकतम तापक्रमको रेकर्ड हो ।काठमाडौंमा २०४६ साल वैशाख २५ गते अर्थात् सन् १९८९ मे ७ तारिकको दिन अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन भएको थियो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘१९८९ मे ७ पछि हिजो (असार १ गते) उच्च गर्मीको रेकर्ड रह्यो ।’
मे र जुन महिना सबैभन्दा गर्मी महिनाका रूपमा चिनिन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वचालित मौसम मापन केन्द्रमा यस वर्षको जुन ८, ९ र १० तारिख अर्थात् जेठ २६, २७ र २८ गते अधिकतम तापक्रम क्रमशः ३१.९, ३३.८ र ३४.४ डिग्री सेल्सियस रेकर्ड भएको थियो ।