२०८१ मंसिर ११ , मंगलबार

स्विट्जरल्याण्डमा भएको शिखर सम्मेलनले निदिष्ट परिणाम दिन नसकेको क्रेमलिनको दाबी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

रूसी प्रशासनिक केन्द्र क्रेमलिनले युक्रेनबारे किएभ नेतृत्वको अन्तर्राष्ट्रिय शान्ति शिखर सम्मेलनबाट ‘शून्य’ परिणाम आएको दाबी गरेको छ ।स्विट्जरल्याण्डमा भेला भएका ९० भन्दा बढी देशका अधिकारीले युक्रेनको स्वतन्त्रताको समर्थन गरे तर द्वन्द्वलाई कसरी अन्त्य गर्ने भन्ने प्रमुख प्रश्नहरू समाधान हुन सकेनन् ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “यदि हामीले यो बैठकको परिणामको बारेमा कुरा ग¥यौं भने त्यो ‘शून्य’ रहेको छ।”

शिखर सम्मेलनमा भाग लिने अधिकांश देशहरूले अन्तिम दस्तावेजलाई समर्थन गरेका थिए, तर साउदी अरब, भारत र संयुक्त अरब इमिरेट्ससहित धेरै देशहरूले यसमा हस्ताक्षर गरेनन् ।पेस्कोभले भन्नुभयो, “धेरै देशहरूले हाम्रो देशको उपस्थिति बिना कुनै पनि गम्भीर छलफलको दृष्टिकोणको अभावलाई बुझेका छन् ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि वार्ता र गम्भीर छलफलका लागि खुला रहेको उहाँले बताउनुभयो ।नेता पुटिनले गत हप्ता युक्रेनले आफ्ना चार क्षेत्र त्यागेमा मात्र मस्को शान्ति वार्तामा सामेल हुने बताउनुभएको थियो । क्रेमलिनले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनविरुद्ध आक्रमण सुरु गरेको थियो ।   रासस/एएफपी