२०८१ मंसिर ३ , सोमवार

प्रहरी प्रमुख हेरफेर गर्ने बिषयमा प्रधानमन्त्री र गृहमन्त्री बीच फरक मत

Prachanda ravi

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गृह जिल्ला चितवन पुगेर नेपाल प्रहरीमा आईजीपी परिवर्तन हुने हल्ला मात्र भएको बताएका छन् । आफूले तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग) का प्रमुखलाई बोलाएर ‘ढुक्कले काम गर्नुस्’ भनेको पनि उनले सुनाए । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग उनले भने, ‘मैले ३ वटै आईजीपीलाई बोलाएर केही परिवर्तन हुँदैन, ढुक्क हुनुस्, त्यही स्पिरिटमा काम गर्नुस् भनेको छु ।’

 

त्यसअघि आइतबार प्रहरी प्रधान कार्यालयले पनि सूचना जारी गरेर प्रहरी संगठन र नागरिकस्तरमा निराशाजनक सन्देश प्रवाह गर्ने प्रचार भएको भन्दै खण्डन गरेको थियो । भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिएर आईजीपी परिवर्तनको प्रयास भएको, तर आफूले नमानेको सन्देश दिएका छन् ।

गृह मन्त्रालय स्रोतका अनुसार, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने प्रहरी प्रमुख (आईजीपी) वसन्तबहादुर कुँवरसँग सन्तुष्ट छैनन् । आईजीपी कुँवर आफ्नो स्पिरिट अनुसार हिँड्न नसकेको गृहमन्त्री लामिछानेको बुझाइ छ ।