२०८१ आश्विन ५ , शनिवार

गायिका अलका याग्निकलाई न्युरो रोग, सुन्ने क्षमता गुम्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

भारतकी पाश्र्व गायिका अलका याग्निकलाई न्युरो रोग लागेको छ । यो रोगका कारण उनको सुन्ने क्षमता गुमेको छ ।गायिकाले सामाजिक सञ्जाल एउटा पोस्ट गरेर आफूलाई लागेको रोगबारे बताएकी हुन् । पोष्टमा गायिकाले लामो समयदेखि आफू निष्क्रिय रहनुको कारण पनि खुलाएकी छिन् ।

पोष्टमा उनले आफ्ना फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छिन् । आफू किन गायब भएको भनेर सोधिरहने फ्यान, साथी, फलोअर्स र शुभचिन्तकहरूका लागि भन्दै उनले सो पोष्ट गरेकी हुन् ।

केही हप्ता अघि हवाई यात्रा गरेर विमानबाट ओर्लिर्ने क्रममा आफूले केही सुन्न नसकेको गायिकाले महसुस गरिन् । डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण गायिकालाई दुर्लभ सेन्सरी नर्भ हियरिङको समस्या भएको देखियो ।

५८ वर्षीया अल्का याग्निक बलिउडकी चर्चित पाश्र्व गायिका हुन् । अल्का ४४ वर्षदेखि पाश्र्व गायनमा सक्रिय छिन् । सन् २०२२ मा गिनिज बुक अफ वर्ल्ड रेकड्र्सले उनलाई विश्वभर सबैभन्दा धेरै स्ट्रिम गरिएको कलाकारको रूपमा मान्यता दिएको थियो ।