२०८१ मंसिर १३ , बिहिवार

श्री एयरलाइन्सले आज काठमाडौं-भरतपुर परीक्षण उडान गर्दै

shree airlines

सुनाखरी न्युज  / काठमाडौं ।

श्री एयरलाइन्सले आज काठमाडौं – भरतपुर परीक्षण उडान गर्ने भएको छ ।कम्पनीले क्यु ४०० सिरिजको जेट इन्जिन जहाजमार्फत भरतपुरमा उडानको तयारी गरेको हो ।परीक्षण उडानको औपचारिक रुपमा उद्घाटन गर्न उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि भरतपुर आउँदै छन् । श्रीले केही दिन अगाडि भरतपुरमा उडानका लागि नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति मागेको थियो ।

भरतपुरमा परीक्षण उडानका लागि श्री एयरलाइन्सले नेपाल नागरिक उड्ययन प्राधिकरणबाट अनुमति पाएसँगै परीक्षण उडान गर्न लागेको हो । श्री एयरलाइन्सले उडान अनुमति पाएपछि बुद्ध एयरको एकाधिकार पनि तोडिएको छ । बुद्ध एयरको एटीआर–४२ सिरिज फेज आउट हुने चरणमा रहेको प्राधिकरणका कर्मचारी बताउँछन् । श्री एयरलाइन्सले टर्बोप्रोपको उडानको लागि अनुमति पाएको हो ।भरतपुर विमानस्थलको रनवे छोटो भएको कारणले ७२ सिटे एटिआर जहाज आउन सकेका थिएनन् । तर, श्री एयरलाइन्सको जहाज भने छोटो रनवेमा पनि अवतरण गर्न सक्छ ।

श्री एयरलाइन्सले नियमित रुपमा भरतपुरमा उडान भरेमा हवाईभाडा घट्ने विश्वास लिइएको छ । बुद्ध एयरले भरतपुरबाट अर्को वर्षबाट ४२ सिटे जहाज हटाउँदैछ । बुद्धले विमान हटाएपछि भरतपुर-काठमाडौं विमान नै नहुने हो कि भन्ने चिन्ता थियो । श्री एयरलाइन्सले उडान अनुमति मागेको जहाजको क्षमता ८० सिटको हो । छोटो रनवेमा पनि अवतरण गर्न मिल्ने जहाज यस कम्पनीसँग रहेको छ ।