२०८१ मंसिर ३ , सोमवार

प्रतिनिधिसभा बैठक : दुग्ध किसानको माग सम्बोधन गर्न ध्यानाकर्षण

pratinidhi_sabha_tB86tFj45V

सुनाखरी न्युज/काठमाडौं ।

सांसदहरुले आन्दोलनरत दुग्ध किसानको माग सम्बोधन, देशभरका सडक निर्माण विस्तार, विमानस्थलको स्तरोन्नती एवं सञ्चालन र जलवायु परिवर्तनको असरतर्फ नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा विभिन्न विषयमा ध्यानाकर्षण गराउने क्रममा सांसद विश्वप्रकाश शर्माले दुग्ध किसानको समस्या तत्कालै समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभयो । उहाँले सात महिनादेखि किसानले ६ लाखभन्दा बढी किसानले भुक्तानी नपाएको जानकारी गराउनुभयो ।

“लोकतन्त्रमा न्याय पाउनका लागि लाखौँ व्यक्ति प्रदर्शनीमा आउँछन् अनि सुनिन्छन्”, उहाँले भन्नुभयो, “त्यो लोकतन्त्र होइन, अन्यायमा परे भनेर एकजनाले मात्रै प्लेकार्ड देखाउँछ । समस्या समाधान हुन्छ भने त्यो लोकतन्त्र हो ।”सांसद बिना लामाले वर्तमान राजनीतिक व्यवस्थाले नागरिकको अवस्था सुिध्रन नसकेको गुनासो गर्नुभयो । उहाँले संसद् सचिवालयका कर्मचारी र दुग्ध किसानको आन्दोलनबारे ध्यानाकर्षण गराउँदै आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद विनिताकुमारी सिंहले सडक विभाग लहान र ठेकेदार कम्पनीको लापरबाहीका कारण सप्तरी क्षेत्र नं २ अन्तरगत रहेको तोपा बजारमा दुई महिनादेखि सडक निर्माण अधुरै रहेको भन्दै कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद श्यामकुमार घिमिरेले प्राविधिक शिक्षाको आवश्यकता औल्याउँदै सिटिइभीटिले सम्बधन दिने तथा नयाँ कार्यक्रम सञ्चालनबारे अन्योल चिर्न माग गर्नुभयो । प्रत्येक गाउँपालिकामा प्राविधिक शिक्षाका लागि शैक्षिक संस्था खोल्न आवश्यक कानुन ल्याउनुपर्ने उहाँको भनाइ थियो ।

सांसद शान्ति विकले संसद् सचिवालयका कर्मचारीको आन्दोलनले सदन प्रभावित भएको भन्दै आन्दोलनरत कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद शान्ति श्रेष्ठले जलवायु परिवर्तनको असरस्वरुप नेपालमा पानीको मुहान सुक्दै गएको भन्दै उहाँले कृषियोग्य जमिनको संरक्षण र वृक्षरोपणलाई प्राथमिकता दिन जोड दिनुभयो । वर्षायामको समयमा प्राकृतिक विपत् जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्व तयारी गर्न सुझावसमेत दिनुभयो ।

सांसद शिव नेपालीले राष्ट्रिय हितका लागि सबै राजनीतिक दल र नेतृत्व एक ठाउँमा उभिन आह्वान गर्नुभयो । उहाँले मूलपानी खेल मैदानको स्तरोन्नती र खेलाडीका लागि तलब भत्ता वृद्धि गर्न सुझावसमेत प्रस्तुत गर्नुभयो ।सांसद शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकोे रनवे निर्माण र विस्तारमा सचेतना अपनाउन साथै पोखरा र भैरहवा विमानस्थलको सञ्चालनतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद शङ्कर भण्डारीले श्रीङ्गपर्च कृष्ण मार्ग सडक लामो समयदेखि कानुनी उल्झनले अधुरै रहेको भन्दै तत्काल उक्त मार्ग बनाउन सरकारको ध्यानार्कषण गराउनुभयो ।सांसद सोविता गौतमले सरकारको सतप्रतिशत लगानी रहेको नेपाल वायुसेवा निगम, राष्ट्रिय ध्वजाबाहक वायुसेवा निरन्तर घाटामा गएको उल्लेख गर्दै यसका सुधारका लागि गठित कार्यदलको प्रतिवेदनको सुझाव कार्यान्वयन नभएको बताउनुभयो । उहाँले सरकारसँग सुझाव कार्यदलले दिएको कति सुझाव कार्यान्वयन भए र नभएकाबारे सदनलाई जानकारी दिनुपर्ने बताउनुभयो ।

सांसद हर्कमाया विश्वकर्माले दलित समुदायको उत्थान लक्षित बजेटको माग गर्नुभयो ।सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्डमा पदाधिकारी नियुक्तिमा ढिलाइ हुँदा पुँजी बजार प्रभावित भएको बताउनुभयो ।सांसद हितराज पाण्डेले कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी रोजगारी बढाउने विषय सरकारको प्राथमिकतामा परे पनि गोरखा जिल्लास्थित कृषि क्याम्पस निर्माण गर्ने निर्णय कार्यान्वयन हुन नसकेको भन्दै तत्काल काम सुरु गर्न ध्यानाकर्षण गराउनुभयो ।

सांसद ज्ञानु बस्नेत सुवेदीले किसान सङ्घर्ष दिवसका अवसरमा २०३४ सालमा चितवनको जुगेडिमा भएको विरोध कार्यक्रममा मृत्यु भएका चेपाङ समुदायका तीन जनालाई सहिद घोषणा गर्नुपर्ने माग गर्नुभयो ।सांसद हेमराज राईले सानो पुँजीमा परम्परागत सीप, प्रविधि र सीप एवं सामग्रीबाट घरेलु मदिरा उत्पादन र प्रयोग गर्ने गरिएको भन्दै यसलाई निश्चित गणस्तर मापदण्ड कायम गरी निर्धारण गरी ब्राण्डिङ गर्न सुझाव दिनुभयो ।

सांसद ज्ञानेन्द्रबहादुर कार्कीले हाइटेन्सन विद्युत् प्रसारण लाईन विस्तारका क्रममा सुनसरी जिल्लास्थित जग्गा अधिग्रहण गर्दा स्थानीयलाई उचित मुआब्जा उपलब्ध गराउन माग गर्नुभयो ।  रासस