२०८१ मंसिर १३ , बिहिवार

जव डाक्टर अर्थमन्त्रीको बजेटमा हिसाब बिग्रियो

gandaki

सुनाखरी न्युज/ पोखरा ।

गण्डकी प्रदेशमा बनेको कांग्रेस नेतृत्वको सरकारले हतार-हतारमा ल्याएको बजेटमा हिसाब नमिल्दा प्रतिपक्षले प्रदेशसभा बैठक नै अवरुद्ध गरेको छ ।

कांग्रेसका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सरकारका अर्थमन्त्री डा. टकराज गुरुङले असार १ गते ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएका थिए ।

 

बिहीबार शून्य समयमा सांसदले आफ्ना कुरा राख्ने र बजेटको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गर्ने कार्यसूची थियो ।

 

सांसदहरुले शून्य समयमा आफ्नो भनाइ राखेपछि कांग्रेस सांसद अशोक श्रेष्ठले बजेटले जनताको भावना र आवश्यकता अनुसार आएको भन्दै सरकारको बचाउ गरेका थिए । तर, त्यसपछि छलफल गर्न रोस्टममा उभिएका एमाले संसदीय दलका उपनेता लिलबहादुर थापाले बोल्न थालेपछि सिंगो सभाकै ध्यानाकर्षण भयो ।

 

बजेट बक्तव्यमा समावेश गरिएको कुल रकम र त्यसको स्रोतको हिसाब नमिलेको देखाउँदा गत सालझैं यो पटक पनि कांग्रेसका मुख्यमन्त्री, मन्त्री र सांसदहरु मुखामुख गर्दै थिए ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट र आम्दानीको स्रोत नमिलेको भन्दै प्रतिपक्षी दल एमालेले आवाज उठाउँदा सरकारले चित्तबुझ्दो जवाफ नै दिन सकेन । अन्ततः एमालेको अवरोध नै भएपछि शुक्रबारसम्मका लागि संसद वैठक स्थगित हुन पुग्यो ।