सुनाखरी न्युज/ काठमाडौं ।
अमेरिकी सेनाले बिहीबार यमनको लाल सागरमा चारवटा हुथी नटिकल ड्रोन र दुईवटा हवाई ड्रोन नष्ट गरेको बताएको छ । इरान समर्थित हुथीहरूले नोभेम्बरदेखि रेड सी र एडनको खाडीमा कार्गो ढुवानी गर्ने जहाजहरूमा ड्रोन र क्षेप्यास्त्रले आक्रमण गर्दै आइरहेको छ ।संयुक्त राज्य अमेरिका र बेलायतलगायत सहयोगीले महत्त्वपूर्ण जलमार्गमा ढुवानीको रक्षा गर्न र हुथी आक्रमणविरुद्ध सेना परिचालनलाई बढाएका छन् ।
‘युएस सेन्ट्रल कमान्ड (सेन्टकम)’ ले बिहीबार राति एक विज्ञप्तिमार्फत सेनाले विगत २४ घण्टामा रेड सीमा चार इरानी ड्रोन र रेड सीमा दुई मानवरहित हवाई प्रणाली (युएएस) नष्ट गरेको बताएको छ ।अमेरिकी विदेश विभागका प्रवक्ता म्याथ्यू मिलरले एक विज्ञप्तिमार्फत हुथी आक्रमणको निन्दा गर्दै वासिङ्टनले आवागमन र व्यावसायिक ढुवानीको स्वतन्त्रताको रक्षा गर्न आवश्यक कदम जारी राख्ने’ बताउनुभयो ।
उहाँले हुथीलाई यस महिनाको सुरुमा हिरासतमा लिएका संयुक्त राष्ट्र सङ्घ, कूटनीतिक र गैर–सरकारी सङ्गठनका कर्मचारीसहित सबै बन्दीहरूलाई रिहा गर्न पनि आह्वान गर्नुभएको छ ।यस महिनाको सुरुमा हुथी लडाकूले अमेरिकी–इजरायली जासुसी सञ्जालको हिस्सा भएको दाबी गर्दै धेरै व्यक्तिलाई पक्राउ गरेका थिए । पक्राउ पर्ने अधिकांश अन्तर्राष्ट्रिय सङ्गठनहरू र संयुक्त राष्ट्रसङ्घीय निकायमा काम गर्ने कर्मचारी रहेका थिए ।
संयुक्त राष्ट्र सङ्घका छ वटा निकाय र तीन वटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुखले हुथी समक्ष आफ्ना कर्मचारीको रिहाइका लागि संयुक्त आह्वान जारी गरेका थिए ।गाजापट्टीमा इजरायल–हमास युद्धको समयमा प्यालेस्टिनीको समर्थनमा रहेको भन्दै हुथी लडाकू समूहले यस्ता आक्रमणलाई वर्णन गर्दै आएका छन् ।हुथी लामो समयदेखि चलिरहेको गृहयुद्धमा संलग्न छन् जसले विश्वको सबैभन्दा खराब मानवीय सङ्कटमध्ये एक सङ्कट निम्त्याएको छ ।रासस/एएफपी