२०८१ मंसिर १२ , बुधवार

सहकारी छानबिन समितिले गृहमन्त्रीसँग सोधपुछ गर्न सक्ने कार्यविधि 

Sahakari-chhanbin-samiti

सुनाखरी न्युज/ काठमाडौं ।

सहकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले गृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गर्न सक्ने गरी कार्यविधि बनाएको छ ।

कार्यविधिलाई  समितिले शुक्रबार अन्तिम रूप दिएको छ, जसमा गोरखा मिडिया नेटवर्क प्रालिको कार्यालयमा स्थलगत अनुगमन गर्नेसमेत उल्लेख छ ।

 

जीबी राई समूहले सञ्चालन गरेको सूर्यदर्शन, सुप्रिम लगायतका सहकारीको करोडौं रकम गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री लामिछानेको पनि संलग्नता रहेको भन्दै नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेपछि संसदीय छानबिन विशेष समिति बनेको थियो ।

१५ जेठमा गठित ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’लाई काम थालेको ३ महिनाको समय दिइएको थियो । संसद्ले चारबुँदे प्रष्ट कार्यादेश दिएको थियो, त्यसका आधारमा विशेष समितिले दुई साता लगाएर आन्तरिक कार्यविधि बनाएको छ ।

 

कार्यविधिमा गृहमन्त्री लामिछानेको नाम नै किटान गरेर बयान लिने भनिएको छैन ।

तर सार्वजनिक रूपमा प्रश्न उठेका भनिएका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम लगायतका सहकारीका साथै रकम प्रवाह भएको गोरखा मिडिया नेटवर्कलगायत अन्य कम्पनी वा संस्थाहरूका तत्कालीन र वर्तमान सञ्चालक, व्यवस्थापक वा व्यवस्थापकीय भूमिकामा रहेका व्यक्तिसँग सोधपुछ गरिने प्रष्ट उल्लेख छ ।