२०८१ असार १६ , शनिवार

एसइई नतिजा प्रकाशन गर्न बोर्डको बैठक बस्दै,नतिजा आज आउने सम्भावना न्यून

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) बारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्न लागेको छ । बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले आज बैठक बस्न लागेको बताए । बोर्डको बैठक बस्न लागे पनि एसईईको नतिजा आज आउने सम्भावना न्यून रहेको अध्यक्ष शर्माले बताए ।

प्राविधिक कार्य नसकिएकाले आजको सम्भावना कम देखिएको उनको भनाइ छ । प्राविधिक काम नसकिएको र त्यो काम सम्पन्न भएको खण्डमा आजै नतिजा प्रकाशनबारे निर्णय गरिने बताए ।नतिजाहरूको अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको छ । अंकमा गरिएको मूल्याङ्कनलाई बोर्डको सफ्टवेयरले अक्षरांकनमा रूपान्तरण गर्ने काम भइरहेको हो ।

बोर्डले यो वर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर नतिजा सार्वजनिक गर्न लागिएको हो । यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने छ । त्योभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिने छ । उ गत चैत १४ गतेदेखि सञ्चालन भएको एसईईमा चार लाख ९१ हजार ४९७ विद्यार्थीले परीक्षा दिएका थिए ।