२०८१ मंसिर १० , सोमवार

यमनका हुथी र इराकी सैनिकको इजरायलविरुद्ध संयुक्त आक्रमण

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

यमनको हुथी समूहले बुधबार इराकी लडाकूसँगको सहकार्यमा इजरायली बन्दरगाह हाइफामा राखिएको इजरायली जहाजमा संयुक्त ड्रोन आक्रमण गरेको जनाएको छ ।

“इस्लामिक सैनिकसँगको सहकार्यमा इजरायली स्वामित्वको मालवाहक जहाज ’एमएससी मान्जानिलो’लाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको छ,” हुथी सैन्य प्रवक्ता याह्या सारियाले अल–मसिराह टेलिभिजनमार्फत जानकारी गराउनुभयो ।

उहाँले आक्रमणले पूर्ण सफलता हासिल गरेको जानकारी गराउनुभयो ।“हामी प्यालेस्टिनी जनताको समर्थनमा इराकी इस्लामिक प्रतिरोधसँग यो संयुक्त सैन्य कारबाही जारी राख्नेछौं,“ सारियाले यस आक्रमणलाई इजरायल–प्यालेस्टाइन सङ्घर्षसँग जोड्दै भन्नुभयो ।

उहाँले प्यालेस्टाइनमा इजरायली आक्रमणको अन्त्य र गाजामा नाकाबन्दी हटाउन माग गर्नुभएको हो ।इजरायली अधिकारीहरूले अहिलेसम्म कथित हुथी आक्रमणको बारेमा टिप्पणी गरेका छैनन् ।साथै संयुक्त राज्य सामुद्रिक व्यापार अपरेसनले बुधवार यमनको बन्दरगाह सहर एडेनको दक्षिणमा एउटा व्यापारी जहाज नजिकै पनि मिसाइल विस्फोट भएको जानकारी दिएको छ ।

रिपोर्टले चालक दललाई कुनै चोटपटक नलागेको र जहाजले आफ्नो यात्रा जारी राखेको संकेत गरेको छ ।नोभेम्बर २०२३ देखि हुथीहरूले गाजा द्वन्द्वमा प्यालेस्टिनी समर्थनको दाबी गर्दै ढुवानी जहाजहरुमा ड्रोन र मिसाइल आक्रमण गर्दै आएका छन् ।  रासस/सिन्ह्वा