२०८१ कार्तिक २० , मंगलबार

पाकिस्तानद्वारा चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरणको स्वीकृति

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चिनियाँ उद्योगलाई पाकिस्तानमा हस्तान्तरण गर्ने सम्बन्धमा चिनियाँ र पाकिस्तानी कम्पनीबीचको संयुक्त उद्यम परियोजनालाई स्वीकृति प्रदान गर्नुभएको छ ।

लगानी मामिला बोर्डको महत्वपूर्ण बैठकको अध्यक्षता गर्दै सरिफले आन्तरिक तथा विदेशी लगानी प्रवर्द्धन सरकारको सर्वोच्च प्राथमिकता रहेको बताउनुभयो ।सरकारले व्यापारी तथा लगानीकर्तालाई व्यापार अनुकूल वातावरण प्रदान गर्न सबै सम्भव उपायहरू गरिरहेको उहाँको भनाइ छ ।

सरिफले विशेष आर्थिक क्षेत्र (सेज) मा संयुक्त उद्यम परियोजना स्थापना गर्न इच्छुक चिनियाँ र अन्य लगानीकतालाई सुविधा प्रदान गर्न विशेष आर्थिक क्षेत्रमा एक–स्टप–शपका लागि मस्यौदा कानूनको समीक्षा गर्न पनि निर्देशन दिनुभएको छ ।

चिनियाँ उद्योगहरू जस्तै कपडा, छाला, जुत्ता र अन्यलाई पाकिस्तानमा स्थानान्तरण गर्ने महत्त्वपूर्ण सम्भावना रहेको, प्रधानमन्त्री सरिफले पहलको महत्त्वमाथि प्रकाश पार्नुभयो ।

बैठकमा लगानी बोर्डका सचिवले चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरण गर्ने सम्बन्धमा चालिएको कदमबारे विस्तृत जानकारी दिनुभएको थियो ।  रासस/सिन्ह्वा