२०८१ असार १८ , सोमवार

महामन्त्री मुकुलले मुलुक घुमेर रास्वपामा ल्याएको हलचल

Kukul Dhakal

सुनाखरी न्युज/ काठमाडौं ।

राष्ट्रिय राजनीति बुधबारदेखि  ३० वर्षे युवाले तयार पारेको ३२ पृष्ठको प्रतिवेदनको वरिपरि घुमिरहेको छ । एउटा यस्तो प्रतिवेदन, जो यतिन्जेल सार्वजनिक भएको छैन तर यसभित्रका सबैजसो मूख्य बुँदाहरु बाहिरिइसकेका छन् ।

 

रास्वपा महामन्त्री मुकुल ढकालले आफ्ना सभापति तथा गृहमन्त्री रवि लामिछानेलाई मन्त्रालयमै गएर बुधबार राति प्रतिवेदन थमाएका थिए । बिहीबार संसद भवनबाट निस्कने बेला शिशिर खनाल लगायत सांसदलाई महामन्त्री ढकालको प्रतिवेदनबारे सोधियो, जबकि उनी स्वयंलाई यसभित्र के लेखिएको छ भन्ने थाहा छैन ।

 

मुलुक घुमेर आएका महामन्त्री मुकुल ढकाल यति बेला आफैं आफ्नो प्रतिवेदन सार्वजनिक गरिपाउँ भनेर सभापति गुहार्दैछन् । पार्टी उच्च स्रोतका अनुसार आफ्नो प्रतिवेदन सार्वजनिक नहुन्जेल पार्टीको केन्द्रीय समिति बैठकसमेत राख्न नदिने ढकालको तयारी छ ।

 

पार्टी सञ्चालनको वर्तमान पद्दति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन ढकालले तयार गरेका छन् । रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले उल्लेख गरेका छन् । समीक्षा प्रतिवेदनका अनुसार पार्टीलाई सामान्य उपचारले सम्भव नहुने र सर्जरीको आवश्यकता छ ।

पार्टी दुर्घटनान्मुख भएको ढकालको निष्कर्ष छ, जसलाई उनले हामीसँगको कुराकानीका क्रममा तीव्र गतिमा रहेको सवारी नै दुर्घटनाको सम्भावना नजिक हुने दाबी गरे । ‘पार्टीलाई २०८४ मा गाह्रो हुने होइन के यस्तै तरिकाले पार्टी चले शतप्रतिशत पार्टी सकिन्छ,’ ढकालले ठोकुवा गरे ।

बालेनसँग दूरी बढाए थप क्षति: महामन्त्री ढकालले काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका बालेन शाहसँग सहकार्य गरेर अघि बढ्नुपर्ने प्रतिवेदन तयार गरेका छन् । रास्वपाले बालेन सहित धनगढी उपमहानगरपालिकामा निर्वाचित मेयर गोपी हमालसँग पनि सहकार्य गर्नुपर्ने लेखेका छन् । बालेन, धनगढीका मेयर गोपी हमाल र रास्वपाबीच सहकार्य भएमा २०८४ को चुनावमा स्पष्ट बहुमत ल्याउन सकिने ढकालको दाबी छ ।

बालेनसँगको दूरी बढाउँदा रास्वपाले क्षति बेहोर्ने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । महामन्त्री ढकालले नेकपा एमाले र माओवादी केन्द्रसँग सम्झौता गर्नुको साटो बालेनसँग गर्नुपर्ने राय प्रतिवेदनमा राखेका छन् । ढकाल प्रतिवेदनमा लेख्छन्,‘आजको दिनमा ओली र प्रचण्डसँग सम्झौता गर्नुको साटो बालेनसँगको सहकार्यलाई प्राथमिकता दिनु हाम्रा लागि हितकर छ ।’

एक महिने अभियानको क्रममा प्राप्त सुझावहरुमा बालेन र गोपी हमालसँगको सहकार्य गर्नुपर्ने मत आएको महामन्त्री ढकालले बताए ।

 

पार्टी सरकारमा रहनुपर्नुको औचित्य पुष्टि गर्नुपर्ने ढकालले तयार गरिएको प्रतिवेदनमा लेखिएको छ ।