२०८१ पुष १० , बुधवार

बीएण्डबी अस्पतालमा गरियो पहिलोपटक रोबोटबाट सर्जरी

b and b

 

सुनाखरी न्युज/ काठमाडौं ।

ललितपुरको बीएण्डबी अस्पतालमा नेपालमै पहिलोपटक सफल रोबोटिक सर्जरी गरिएको छ । सो अस्पतालमा एकै दिनमा तीनवटा रोबोटिक सर्जरी भएको हो । प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नुतन शर्माले नेपालमा पहिलोपटक रोबोटबाट ३ जना महिलाहरूको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। ल्याप्रोस्कोपिक सर्जन तथा आइभिएफ विशेषज्ञसमेत रहेकी शर्माले रोबोटक प्रक्रियाबाट एकजना ५२ वर्षकी महिलाको पाठेघर, ३१ वर्षीया महिलाको ओभरीको सिष्ट र अर्की ३४ वर्षकी एक महिलाको पाठेघरको ट्युमर निकालेकी हुन् ।

नेपालमा पहिलोपटक रोबोटिक सर्जरी भइरहँदा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुगमन गरिरहेकी थिइन् । रोबोटिक सर्जरी गरिएका तीनैजना बिरामीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ । यो नेपालको इतिहासमा नै पहिलो शल्यक्रिया भएको डाक्टर शर्माको दाबी छ। उनले शल्यक्रिया गर्दा भारतको मोरदावादस्थित एपेक्स अस्पतालकी निर्देशक डाक्टर लीना मेहरोटाले स्क्रिन सेयर गरेर अनुमगन गरिरहेकी थिइन्।

शल्यक्रियामा रोबोटिक प्रविधिको प्रयोगले चिकित्सक र बिरामी दुवैका लागि फाइदाजनक भएको डा। शर्माले बताइन् । उनका अनुसार रोबोटिक प्रणालीले ठूलो घाउ नपारीकनै बढी चुस्तताका साथ शल्यक्रिया गर्नसक्छ । यसले गर्दा जटिलताको जोखिम घटाउने र शल्यक्रिया परिणामहरूमा सुधार ल्याउने उनको भनाई छ । रोबोटिक शल्यक्रिया न्यूनतम चिरफारमा सम्पन्न हुने हुँदा बिरामीहरूलाई पीडा खासै हुँदैन र घाउ अनि खत पनि धेरै रहन्न ।