२०८१ असार २० , बुधवार

भारतलाई विश्वकप जिताएसँगै रोहित र विराटले लिए ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

india

सुनाखरी न्युज/ काठमाडौं ।

भारतका कप्तान रोहित शर्मा र ओपनर विराट कोहलीले‍ टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।शनिबार राति टी-२० विश्वकपको उपाधि जितेसँगै रोहितले टी-२० फर्म्याटका अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन्।

शनिबार दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले १७ वर्ष यताको उपाधि खडेरी तोड्दै टी-२० विश्वकपमा दोस्रो उपाधि जितेको थियो।बार्बाडोसमा पोस्ट म्याच प्रेस कन्फरेन्समा कप्तान शर्मा र म्यान अफ द म्याच घोषित हुँदै गर्दा कोहलीले संन्यासको घोषणा गरेका हुन्।

‘टी-२० अन्तर्राष्ट्रियमा यो मेरो अन्तिम खेल थियो। यो फर्म्याटबाट बिदा हुनका लागि योभन्दा राम्रो समय अरु हुन सक्दैन। मैले यही फर्म्याटबाट भारतीय क्रिकेट टिममा खेल्न सुरू गरेको थिएँ। म उपाधि जित्न चाहन्थेँ,’ रोहितले भने।

कोहलीले जारी विश्वकपपछि आफूहरूले संन्यास लिने विषय ओपन सेक्रेटजस्तै भएको बताएका थिए।‘अब अर्को पुस्तालाई पालो दिने बेला भयो। हामीसँग उत्कृष्ट खेलाडीहरू थुप्रै उत्पादन भएका छन्, जुन भर्खरै सकिएको आइपिएलमा पनि देखियो। अब भारतलाई यसभन्दा अगाडि लैजाने जिम्मा तिनै खेलाडीहरूको हो,’ कोहलीले भने।