सुनाखरी न्युज/ काठमाडौं ।
महिनावारी महिलामा हुने प्राकृतिक प्रक्रिया हो । किशोरीवस्थामा पुगेपछि महिनावारी चक्र सुरु हुन्छ र यो हरेक महिनामा एकपटक हुन्छ । कसैलाई महिनावारी चक्रमा असहज र धेरै दुखाइ हुनसक्छ । त्यसमा महिनावारी अनियमित भएमा तनावको कारण बन्न जान्छ ।
अनियमित महिनावारी के कारणले हुन्छ ? कुन अवस्थामा यो जोखिमपूर्ण हुन्छ ? भनेर जान्न आवश्यक हुन्छ, ताकि समयमै यसलाई पहिचान तथा उपचार गर्न सकियोस् ।कसैलाई छिटो वा कसैलाई ढिलो महिनावारी हुनसक्छ, जसलाई महिनावारी गडबडी वा अनियमित महिनावारी भनेर बुझिन्छ ।
कारण
कुनै कारणवश एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनको असन्तुलन भएमा अनियमित महिनावारी हुन्छ । यी हार्मोनमा असन्तुलन आउने थुप्रै कारण छन् ।
तनाव बढ्नु
महिनावारी चक्र गडबडी हुने ९० प्रतिशत कारण तनाव मानिन्छ । कुनै कुराको तनाव अत्यधिक मात्रामा लिंदै गएमा हार्मोनको सन्तुलनमा गडबड आउँछ ।
किनभने तनाव उच्चतम बिन्दुमा पुगेपछि तनाव हार्मोन एन्ड्रोलिन र कोर्टीसोल हार्मोन हाबी हुन जान्छ । जसले एस्ट्रोजेन र प्रोजेस्टेरोन हार्मोनमा प्रतिक्रिया गरी यसको उत्पादनमा असर गर्छ । जसले अण्डालाई उत्पादन हुन दिंदैन र महिनावारी नियमित हुँदैन ।
तौल घट्नु
यदि शरीर दुब्लो छ वा अचानक तौल घटिरहेको छ भने पनि महिनावारी अनियमित हुनसक्छ । अत्यधिक दौडधुपले खानपानमा उचित समय नदिनु, पौष्टिक आहार कम खानु, कोही तौल बढ्ने चिन्ताले क्यालोरी नियन्त्रण गर्न आवश्यक खानेकुराभन्दा कम खाने युवतीमा तौल घट्न सक्छ । कोही जति खाए पनि शरीर अत्यधिक दुब्लो छ भने पनि अण्डाशयको लागि आवश्यक हार्मोन उत्पादन हुन बन्द हुनसक्छ ।
मोटोपन
अत्यधिक तौल पनि महिलाको महिनावारीमा असर गर्ने कारक बन्न सक्छ । मोटो शरीर भएमा एस्ट्रोजेन हार्मोनको उत्पादन चाहिनेभन्दा बढी हुन्छ । जसले महिनावारी नियमित हुन दिंदैन ।
चाहिनेभन्दा बढी व्यायाम
स्वस्थ रहनका लागि व्यायाम आवश्यक छ । तर आवश्यकता भन्दा बढी व्यायाम गर्नु भनेको एस्ट्रोजेन र प्रोजेस्टोरोन हार्मोनलाई दखल दिनु हो । शरीरको बोसो ह्वात्तै हटाउन गरिने कडा व्यायामले अण्डा उत्पादनमा रोक लगाउन सक्छ ।
शारीरिक परिपक्वता
किशोरीमा शारीरिक परिपक्वतामा ढिलो-छिटो हुँदा महिनावारीको चक्र प्रभावित हुनसक्छ । किशोरीको शारीरिक विकास नहुँदा पहिलो पटक महिनावारी भएपछिको एक-डेढ वर्षसम्म पनि महिनावारी नहुने वा अनियमित हुनसक्छ ।
कति रगत बग्नु सामान्य ?
महिनावारी चक्रमा ८० देखि १०० एमएलसम्मको रगत बग्नुलाई सामान्य मानिन्छ । दिनमा दुईदेखि तीनवटासम्म प्याड भिज्नु राम्रो हुन्छ । तर सात दिनभन्दा धेरै रगत बग्नु, छिटो छिटो महिनावारी चक्र हुन्छ भने चिकित्सकको परामर्शमा लिनुपर्छ ।
कति बेला अस्पताल जाने ?
-महिनावारीको समय ४० दिनभन्दा बढी नाघेमा,
-नियमित हुने महिनावारी अचानक रोकिएमा,
-महिनावारी हुँदा अत्यधिक पीडा हुनु र रक्तस्राव भएमा,
-एक साताभन्दा बढी समयसम्म रक्तस्राव भइरहेमा,
-महिनावारी हुँदा अत्यधिक पेट दुखाइ हुनु ।
उपचार
जबसम्म अनियमित महिनावारीले ठूलो समस्या ल्याउँदैन, तबसम्म उपचारको आवश्यकता हुँदैन । तर अत्यधिक पेट दुखाइ हुनु, रक्तस्राव धेरै हुनु र गर्भ रहन पनि समस्या भइरहेको छ भने पाठेघरको परीक्षण गराउनुपर्ने हुन्छ ।
त्यस्तै, तनाव व्यवस्थापन गर्ने, पेट दुख्दा ‘हट वाटर ब्याग’ले सेक्ने, तातो पानीले मात्र नुहाउने, आवश्यक शारीरिक सक्रियता बढाउने, पौष्टिक आहार बढी खाने, जंक फुड नखाने र अत्याधिक व्यायाम नगर्ने गर्दा पनि महिनावारी समस्या कम गर्छ । एजेन्सी