२०८१ मंसिर ७ , शुक्रवार

कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, मध्यराति १२ः१५ मा हस्ताक्षर

cccccccc

सुनाखरी न्युज/ काठमाडौं ।
संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका छन् । दुई दलका शीर्षस्थ नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

 

कांग्रेसका एक नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् । निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ । आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ ।

 

राष्ट्रिय सहमतिको सरकार सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइ समर्थन जुटाएर सरकार बनाउने लक्ष्य कांग्रेस र एमालेको छ । ‘सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ९ र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने प्रारम्भिक समझदारी छ । तर, राष्ट्रिय सहमतिकै सरकार बनाउने प्रयास भएकाले मन्त्रालयको संख्या तलमाथि हुन सक्छ,’ कांग्रेसका एक नेताले भने ।

कांग्रेस–एमालेको सहमतिसँगै निर्वाचनयता डेढ वर्षको बीचमा तीन पटक गठबन्धन फेरेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको संघारमा पुगेको छ । एमाले सरकारबाट अलग भएर समर्थन फिर्ता लिनासाथ दाहाल अल्पमतमा पर्ने निश्चित छ । त्यसो हुँदा उनलाई तत्काल राजीनामा दिने वा विश्वासको मत लिने विकल्प हुनेछ । त्यसका लागि अनौपचारिक रूपमा दाहाललाई राजीनामा दिन अनुरोध गर्ने, नभए सरकारमा सहभागी एमाले मन्त्रीहरूले सामूहिक राजीनामा दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने समझदारी पनि भएको छ ।

राजनीतिको विकसित घटनाक्रमबारे देउवा र ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत मध्यरातमै जानकारी गराएका छन् । स्रोतका अनुसार राष्ट्रपतिले संविधानको धारा ७६(३) बमोजिम सरकार बनाउन आह्वान गर्छन् कि भन्ने आशंका एमाले अध्यक्ष ओलीको थियो । ‘त्यसलाई निराकरण गर्दै धारा ७६(२) अन्तर्गत नै सरकार बन्नेमा आश्वस्त पारेपछि सहमतिमा हस्ताक्षर भएको हो,’ स्रोतले भन्यो ।

नयाँ सत्ता समीकरणका लागि देउवा र ओलीबीच केही दिनदेखि शृंखलाबद्ध छलफल बाक्लिएको थियो । कांग्रेसका एक नेताका अनुसार देउवा र ओलीबीच केही दिन पहिलेदेखि छलफल चल्दै आए पनि सत्ता समीकरण नै बदल्ने स्थितिमा भने असार १५ को भेटपछि पुगेका हुन् । कांग्रेससँग सत्ता समीकरण मिलाउन लागेका ओलीले प्रधानमन्त्री दाहाललाई पनि समानान्तर रूपमा आश्वस्त पार्न भने छाडेका थिएनन् ।

देउवाले भने ओलीसँग एकखालको समझदारी बनाएर कांग्रेस नेताहरू रमेश लेखक र ज्ञानेन्द्रबहादुर कार्कीलाई थप छलफलका लागि संलग्न गराएका थिए । ओलीले पार्टीका महासचिव शंकर पोखरेलबाहेक अन्य नेतालाई यसको सुइँको समेत दिएका थिएनन् ।

महासचिव पोखरेलबाहेकका नेताहरूलाई गठबन्धन कायम नै रहने सन्देश दिएर ओली राति ११ बजे बालकोटबाट बाहिरिएका थिए । त्यसपछि ओली र देउवा उद्यमी रामेश्वर थापाको चपलीहाइटस्थित घर पुगेर सहमतिपत्रमा हस्ताक्षर गरी साढे १२ बजे फर्किएका थिए ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पार्टी प्रवक्ता प्रकाशरण महतले एमालेसँग सरकारका लागि मात्रै नभएर निर्वाचन प्रणालीलगायत संविधान संशोधनका एजेन्डा र सुशासनका मुद्दामा समेत सहमति गरेरै लामो सहकार्य गर्ने बताए ।