२०८१ मंसिर ६ , बिहिवार

किन घट्न थाल्यो कुखुराको मासुको मूल्य, यस्तो छ कारण

chicken

सुनाखरी न्युज/ काठमाडौं ।
कुखुराको मासुको मूल्य पछिल्लो समय  घट्न थालेको छ। अत्यधिक गर्मीका कारण माग घटेकाले मूल्य घट्न थालेको व्यवसायीहरू बताउँछन्।

कुखुराको मासुको मूल्य राष्ट्रिय कुखुरा व्यवसायी संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ। एक सातादेखि कुखुराको मासुको मूल्य घट्न थालेको संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए। उनका अनुसार गत आइतबार र मंगलबार कुखुराको मासुको मूल्य प्रतिकिलो १०-१० रूपैयाँ घटाइएको हो।

गर्मी मौसममा सधैंजसो कुखुराको मासुको मूल्य घट्ने गरेको भ्याली कोल्डस्टोरका सञ्चालक हरिकृष्ण रावलले जानकारी दिए। ‘गर्मीले कुखुराको मासुको माग घटेको छ। त्यसैले गर्दा मूल्य घटेको हो,’ उनले भने।

आगामी दिनमा कुखुराको मासुको मूल्य घटबढ हुनेबारे भने अहिले भन्न नसक्ने उनले जानकारी दिए।

उनका अनुसार कुखुराको मासुको मूल्य बजार मागले निर्धारण गर्छ। बजारमा माग बढ्यो भने मासुको मूल्य पनि बढ्छ, माग घट्यो भने मूल्य पनि घट्छ।

साउन महिनामा धेरेजसो ब्रत बस्ने र माछा मासु नखाने हुनाले स्वाभाविक रूपमा माग घट्ने उनको अनुमान छ।

 

हाल देशभर विभिन्न जिल्लामा व्यावसायिक रूपमा कुखुरा उत्पादन हुँदै आएको छ। कुखुरा व्यवसायको हब मानिने चितवनमा मात्रै कुल उत्पादनको १२ देखि १३ प्रतिशत उत्पादन हुन्छ। त्यस्तै, सातदेखि आठ प्रतिशत कुखुरा उत्पादन काभ्रे, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लामा हुँदै आएको छ।

काठमाडौंमा धेरैजसो काभ्रे, चितवन, नुवाकोट, धादिङ लगायतका जिल्लाबाट कुखुरा भित्रिन्छन्। संघका अनुसार हाल कुखुराको मासु दैनिक ६ देखि ८ लाख किलो खपत हुँदै आएको छ।