२०८१ मंसिर १२ , बुधवार

आगामी आइतबारसम्म भारी वर्षा हुने, सतर्कता अपनाउन सुझाव

rai

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आइतबारसम्म भारी वर्षा हुने भएकाले सावधानी अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।

आगामी दिनमा सीमित क्षेत्रमा मात्रै वर्षा हुने भएकाले जलवायु तथा मौसम विज्ञान विभागले बढी वर्षा हुने भनेर जोखिम किटान गरेका ठाउँमा विशेष सतर्कता अपनाउनुपर्ने जलवायु विज्ञ डा. धर्म उप्रेतीले बताए । उनले साउन, भदौ र असोजमा भारी वर्षा हुने हुँदा त्यसले निम्त्याउनसक्ने जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारले समयमा नै ध्यान दिनुपर्ने बताए ।

न्यूनचापीय रेखा नेपाल नजिक, आइतबारसम्म भारी वर्षा हुने

विज्ञ उप्रेतीले मनसुनको न्यूनचापीय रेखा नेपालको नजिक रहेको र यस समय बढी वर्षा हुने भन्दै आइतबारसम्म सावधानी अपनाउन आग्रह गरे । उनले पोखरा, काठमाडौँ, सुदूरपश्चिममा दिपायल, कोशी प्रदेशका केही भूभागमा अत्यधिक वर्षा हुने बताए । उनले भूबनावटले थेग्ने भन्दा वर्षा भएको खण्डमा पहिरो जाने उच्च सम्भावना रहेको बताए ।

आगामी तीन महिनामा नेपालमा अत्यधिक वर्षा हुने

विज्ञ उप्रेतीले असारमा औसतभन्दा कम पानी पर्दाको क्षति ठुलो भइसकेको भन्दै आगामी तीन महिनामा नेपालले व्यहोर्नुपर्ने क्षतिको भार नेपालले व्यहोर्न नसक्ने बताए । उनले समयमा नै सरकारले विशेष ध्यान दिन र शतर्कता अपनाउन नसके विपद्बाट ठुलाे क्षति हुने निश्चित रहेको बताए ।

नदी किनारमा भएका बस्तीहरू, भौतिक संरचना, विद्युतीय संरचना, विद्यालय, लिएर खानेपानी, कृषि सबैमा विपद्को प्रभाव बढेको उनले बताए । उनले मनसुनको न्यूनचापीय रेखा नेपालमा रहेकाले यस समय भारी वर्षा हुने बताए । उनले विपद्पूर्व नै विपद् हुनसक्ने सम्भावित क्षेत्रको पहिचान गरी त्यहाँका स्थानीयहरूलाई सचेत गराउन आवश्यक रहेको बताए ।