२०८१ मंसिर १० , सोमवार

स्पेनी प्रधानमन्त्री साञ्चेजकी पत्नीद्वारा अदालतसमक्ष बयान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती भ्रष्टाचार मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रबार न्यायाधीशसमक्ष बयान दिन म्याड्रिडको अदालतमा पुग्नुभएको छ ।निजी क्षेत्रमा भ्रष्टाचार र तस्करीको अपराधको आरोपमा बेगोना गोमेजलाई गत महिना म्याड्रिडको अदालतले जुलाई ५ मा ‘अनुसन्धान पक्ष’को रूपमा सोधपुछका लागि बोलाएको थियो ।

उहाँ बिहान १०ः३० बजे म्याड्रिडको अदालतमा आइपुग्नुभएको हो । अदालतमा प्रारम्भिक अनुसान्धान चलाइरहेका न्यायधीश जुआन कार्लोस पेनाडोसमक्ष बन्द इजलासमा उहाँले बयान दिनुहुने एएफपी संवाददाताले जानकारी गराए ।भ्रष्टाचार विरोधी एनजिओ मनोस लिम्पियास (क्लिन ह्यान्ड्स) ले गोमेजविरुद्ध उजुरी दर्ता गरेपछि अप्रिल १६ बाट मुद्दाको प्रारम्भिक अनुसन्धान सुरु गरिएको हो ।

दक्षिणपन्थी विपक्षीले सान्चेज र उहाँको वामपन्थी सरकार भ्रष्ट भएको दाबी गरेको प्रमाणको रूपमा यस मामिलामा आक्रमण गरेको हो । तर उहाँले आफ्नो सरकारलाई अपदस्थ गर्ने उद्देश्यले यो आरोप लगाएको भन्दै यस अभियानको निन्दा गर्नुभएको छ ।अप्रिल महिनाको अन्त्यमा अनुसन्धानको खबर आएपछि सान्चेजले दक्षिणपन्थीद्वारा राजनीतिक उत्पीडनको अभियानको रूपमा यो आरोप लगाएको भन्दै राजीनामा दिने विचार गरिरहेको बताउनुभएको थियो ।

म्याड्रिडका अभियोजकहरूले प्रमाणको अभावमा मुद्दा खारेज गर्न अनुरोध गरेका थिए तर अदालतले उक्त अपिल मान्य नभएको भन्दै अनुसन्धान न्यायाधीशले जुलाईका लागि समाह्वान जारी गर्नुभएको थियो ।कानुनी कागजातले गोमेज र सल्लाहकार कार्लोस ब्यारेब्स बीचको व्यावसायिक सम्बन्धमा अनुसन्धान केन्द्रित रहेको देखाउँछ ।

मे महिनाको अन्त्यमा प्रकाशित गरिएका कागजातहरूमा अदालतले गोमेजले सन् २०२० मा धेरै सार्वजनिक अनुबन्धका लागि संयुक्त उद्यम बोलीमा प्रदान गरेको समर्थनको खोजी गरिरहेको बताएको थियो ।यस हप्ताको सुरुमा अनुसन्धान न्यायाधीशले गोमेजलाई ‘उहाँको श्रीमान प्रधानमन्त्री बनेदेखिको गोमेजको सबै कार्य, आचरण र व्यवहारको अनुसन्धान भइरहेको बताउनुभएको थियो ।  रासस/एएफपी