२०८१ असार २५ , सोमवार

इजरायलले क्रुर यातना दिएको रिहा भएका गाजाबासीको आरोप

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

इजरायल–हमास युद्धमा इजरायलद्वारा नियन्त्रणमा लिइएका प्यालेष्टिनीहरूलाई इजरायलले आँखामा पट्टी बाँधेर कुटपिट गरेको र कहिलेकाहीँ कुकुरले समेत टोकाएर यातना दिएको आरोप इजरायली जेलबाट रिहा भएका गाजाबासीले लगाएका छन् ।गाजाको सबैभन्दा ठुलो अस्पताल अल–सिफाका पूर्व निर्देशक मोहम्मद अबु सलमियाले इजरायलले बन्दीहरूलाई दुव्र्यवहार गरेको बताउनभएको छ ।

इजरायली जेलबाट सोमबार रिहा गरिएका दर्जनौँ कैदीहरूमध्ये एक साल्मियाले ‘धेरै कैदीहरूको सोधपुछ केन्द्रमा मृत्यु भएको र खाना र औषधिबाट वञ्चित रहेका’ बताउनुभयो ।इजरायली सेना र शिन बेट गुप्तचर सेवाले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि उनीहरूले विगतमा यस्ता आरोपहरू अस्वीकार गर्दै आएका छन् ।संयुक्त राष्ट्र सङ्घलगायतका संस्थाले लामो समयदेखि इजरायली जेलमा प्यालेस्टिनी कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका थिए ।

जुन ११ मा इजरायलले रिहा गरेपछि गाजापट्टीको कमल अदवान अस्पतालमा लगिएका ५० कैदीहरूमध्ये केहीको एएफपीले अन्तर्वार्ता लिएको थियो ।रिहा भएका बन्दीमध्ये एक ३७ वर्षीय महमुद अल–जानिनले आफ्नो अस्पतालको ओछ्यानको यातनाको स्मरण गर्दै भन्नुभयो, “मलाई दिनरात कुटपिट गरिएको थियो । हाम्रो आँखामा पट्टी बाँधिएको थियो, हाम्रो हातखुट्टा बाँधिएका थिए र कुकुरले समेत टोकाइएको थियो ।

“संयुक्त राष्ट्र सङ्घले कैदीहरूसँगको इजरायली दुब्र्यवहार ‘अस्वीकार्य’ रहेको बताएको छ ।“हामीले यातना, दुब्र्यबहार, हतकडी, खाना, औषधि, पानीबाट कैदीहरू वञ्चित भएको रिपोर्टहरू प्राप्त गरेका छौँ र यो धेरै चिन्ताजनक विषय हो । हामीले यो विषय इजरायली अधिकारीसमक्ष उठाएका छौँ र पारदर्शी अनुसन्धानका लागि आग्रह गरेका छौँ,” संयुक्त राष्ट्र मानव अधिकार आयुक्तकी प्रवक्ता रविना शामदासानीले भन्नुभयो ।

मे महिनामा, इजरायली सेनाले सोधपुछको क्रममा बन्दीहरूलाई निर्वस्त्र गर्ने, यौन दुर्व्यवहार गर्ने र बिजुली प्रहार गरेको आरोप ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको अमेरिकी सञ्चारमाध्यमको प्रतिवेदनले जनाएको थियो ।हमासको आक्रमणपछि इजरायली संसदले नजरबन्दसम्बन्धी नियमहरू संशोधन गरेको हो ।डिसेम्बरमा गैरकानुनी लडाकुसम्बन्धी कानूनमा परिवर्तन ल्याएपछि प्यालेस्टिनीहरूलाई विशेष शिविरहरूमा हिरासतमा राख्न प्रयोग गरिएको छ ।

कानुनमा परिवर्तन ल्याएपछि इजरायलले अब प्रशासनिक प्रक्रिया बिना ४५ दिनका लागि कैदीहरूलाई हिरासतमा राख्न सक्छ । कैदीहरूलाई अदालतको सुनुवाइ बिना ७५ दिनका लागि हिरासतमा राख्न सकिन्छ र न्यायाधीशले बन्दीसँग वकिलले सम्पर्क गर्नबाट रोक्न सक्नेछन् ।“केही बन्दीले आठ महिनाभन्दा बढी समयदेखि वकिलसँग भेटेका छैनन् र अदालतमा उपस्थित नगराई वकिल बिना जूममार्फत् मुद्दा चलाइएको छ,” इजरायलमा यातना विरुद्धको सार्वजनिक समितिका निर्देशक ताल स्टेनरले बताउनुभयो ।  रासस/एएफपी