२०८१ मंसिर १२ , बुधवार

पहिलोपटक बागमतीमा सत्ता नेतृत्व गर्दै कांग्रेस

सुनाखरी न्युज/ काठमाडौं ।

गत निर्वाचनमा  प्रतिनिधि सभामा पहिलो दल रहेको नेपाली कांग्रेस चार वटा प्रदेशमा पनि ठूलो दल बन्यो । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस पहिलो दल हो ।

संघीयतापछि निर्माण भएका प्रदेश सभामा सरकारमा मधेश र बागमतीमा कांग्रेसले सरकारको नेतृत्व गर्न हालसम्म पाएको छैन । बागमतीमा पहिलो दल बने पनि यसपटक पनि कांग्रेसले सरकार बनाउने अवसर प्राप्त गरेन ।

 

गठबन्धनको आडमा यी दुई बाहेकका प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गरिसकेको छ । केन्द्रीय राजधानी रहेको बामगती प्रदेशमा कांग्रेसले सरकारको नेतृत्व गर्न पाउने अवसर सात वर्षपछि अब भने जुरेको छ ।

 

पहिलो दल बनेको प्रदेशमा कांग्रेसले सरकार बनाउने गरी सहमति बनेको छ । दुई ठूला दलको सत्ता सहकार्यले मात्रै बागमतीमा कांग्रेस सरकारको नेतृत्व गर्ने अवस्था बनेको छ ।

कांग्रेस ठूलो दल हुनुको साथै माओवादीले बागमती छोड्नै पर्ने अवस्थामा कांग्रेसको भागमा पर्नु स्वाभाविक भएको नेता एनपी साउद बताउँछन् । एमाले पहिलो दल भएको मधेश जनमतलाई दिएर कांग्रेस पहिलो बनेको कर्णाली एमालेले आफ्नो भागमा राखेको छ ।

 

कांग्रेसका बागमती प्रदेश सभामा हाल ३७ सांसद सहित पहिलो दल हो ।