सुनाखरी न्युज/ काठमाडौं ।
माओवादी केन्द्र नेतृत्वकाे बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । एमालेले सरकारलाई दिएकाे समर्थन पनि फिर्ता लिएकाे छ ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई साेमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा याेजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटाैंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।
एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ थिए ।
अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चाैथाे पटक एमाले र कांग्रेसकाे गठबन्धन सरकार बनाउने तयारी छ ।