२०८१ आश्विन ५ , शनिवार

सुरू भयो कलाकारलाई तीज गीत निर्माणको चटारो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गायक पशुपति शर्माले केही तीज गीत रेकर्डिङ गराइसकेका छन्। उनले गाएका गीतको भिडिओ निर्माणको काम समेत सुरू भइसकेको छ। खुमन अधिकारी, खेम सेञ्चुरी, शान्तिश्री परियार, राधिका हमाल, देवी घर्ती, अर्जुन सापकोटा, सम्झना भण्डारी, सुनीता बुढा क्षेत्री लगायतले पनि तीज गीतको काम सुरू गरिसकेका छन्।

‘रेकर्डिङ केही साता अघिदेखि नै थालेको थिएँ। भिडिओको काम गत बिहीबारदेखि सुरू गरेको छु,’ गायक खुमनले भने। तीज आउन अझै २ महिना बाँकी छ। तर कलाकार अहिल्यैदेखि तीज गीत निर्माणको चटारोमा छन्। तीज गीतमा विशेष गरेर लोकदोहोरी कलाकारहरू बढी व्यस्त हुने गरेका छन्।

तीजको अवसरमा देश–विदेशमा केही समय अगाडिदेखि नै हुने सांगीतिक कार्यक्रमहरूमा सहभागी हुनुपर्ने भएकाले चाँडैदेखि गीतको तयारी थाल्नुपर्ने बाध्यता रहेको कलाकारहरू बताउँछन्। निर्देशक स्मृति तिमल्सिना ‘गुरूआमा’ ले तीज गीत छायांकनको काम असार लागेसँगै सुरू भएको बताइन्।

कतिपयले भने तीजको गीत सार्वजनिक समेत गरिसकेका छन्। खेम सेञ्चुरी र शान्तिश्री परियारको स्वरमा ‘रेलिमै’ बोलको तीजकेन्द्रित गीत शुक्रबार मात्रै सार्वजनिक भएको छ। गायक-गायिकाको नभएर सर्जक रमेश परियारको युट्युबमा यो गीत सार्वजनिक भएको हो। ‘बरिलै’, ‘सुनको बाला’, ‘आफ्नै पारामा’, ‘रहरैमा’ लगायतका गीतहरू समेत युट्युबमा सार्वजनिक भइसकेको देख्न सकिन्छ।

गायिका शान्तिश्री परियारले तीजको अवसर पारेर अमेरिकामा सांगीतिक प्रस्तुति दिने भएकी छन्। अमेरिकाका ८ वटा राज्यमा उनको प्रस्तुति तय छ। उनीसँगै गायिका रचना रिमाल, ज्योति मगर, मोडल करिष्मा ढकालको समेत प्रस्तुति रहनेछ। गायक खुमन अधिकारीले दिल्ली, दुबई, अस्ट्रेलियामा कार्यक्रम गर्ने तय गरिसकेका छन्। पशुपति शर्मा, खेम सेञ्चुरी, सुनीता दुलाल, कोमल वली, प्रकाश दूतराज लगायतले समेत विदेशका कार्यक्रम तय गरेका छन्। गायिका समीक्षा अधिकारीले तीजमा जापानमा कार्यक्रम तय भएको जानकारी दिएकी छन्। उनीसँगै गायक रामजी खाँडले समेत जापानमा प्रस्तुति दिनेछन्। अन्य थुप्रै गायक–गायिकाले पनि तीज विशेष कार्यक्रम तय गरिरहेका छन्।