२०८१ मंसिर १२ , बुधवार

ट्रंक र डेडिकेटेड महसुल विवाद फेरि चर्कियो, प्राधिकरणले तीन उद्योगको लाइन काट्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल विद्युत् प्राधिकरणले फेरि तीन उद्योगको लाइन काटेको छ । अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटिएको हो । डेडिकेटेड र ट्रंकलाइनको महशुलको विषयलाई लिएर प्राधिकरणले मंगलबार राति ९ बजे तीन उद्योगको लाइन काटेको हो ।

प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । ती उद्योगहरुले २०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडसेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेको प्राधिकरणको भनाइ छ ।

यसअघि पनि प्राधिकरणले यहीं विषयलाई लिएर २ पुस २०८० का दिन विभिन्न उद्योगको बिजुलीको लाइन काटेको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालको सक्रियतामा मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो ।सरकारले आयोगको निर्णय कार्यान्वयन गर्न विद्युत् प्राधिकरणलाई निर्देशन समेत दिएको थियो ।

प्राधिकरण सञ्चालक समितिको यही असार ४ गतेको ९७३ औं बैठकले २०७२ माघदेखि २०७५ वैशाख महिनासम्म डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत शक्ति प्रयोग गरेको थप महशुल २५ प्रतिशत थप दस्तुरसहित बक्यौता तिर्न उद्योगहरुलाई १५ दिनको म्याद दिएको थियो ।मंगलबार १५ दिनको म्याद गुजारेको भन्दै विद्युत प्राधिकरणले लाइन काट्न सुरु गरेको हो ।