२०८१ मंसिर ९ , आइतवार

दुई तिहाइको सरकार बनाउन कांग्रेस र एमालेको प्रयास

Oli Deuba

सुनाखरी न्युज/ काठमाडौं ।
नयाँ समीकरणअनुसार अब बन्ने सरकार सहज दुई तिहाइ समर्थनको हुने गरी कांग्रेस–एमालेले मधेशकेन्द्रित दललाई पनि सरकारमा सहभागी गराउने भएका छन् ।

 

कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा बुधबार बसेको शीर्ष नेताहरूको बैठकमा समीकरण बन्नुअघि आ–आफ्नो मोर्चामा आबद्ध रहेका मधेशकेन्द्रित दललाई सरकारमा सहभागी गराउने निर्णय कांग्रेस–एमालेले लिएका हुन् ।

 

कांग्रेस–एमालेबीच असार १७ मा भएको ७ बुँदे समझदारीको पक्षमा उभिएका अशोक राई नेतृत्वको जसपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, महन्थ ठाकुर नेतृत्वको लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउनेबारे बैठकमा छलफल भएको थियो । ती दललाई एक-एक मन्त्रालय दिने गरी सरकारमा ल्याउन कांग्रेस र एमालेले चाहेका हुन् ।

कांग्रेससँग ८८, एमालेसँग ७७ (सभामुख र एक निलम्बितबाहेक), जसपा ७, जनमत ६, जसपा नेपाल ५, नागरिक उन्मुक्ति ४ र लोसपासँग ४ सांसद रहेकाले १ सय ९१ सांसदको समर्थनसहित दुई तिहाइ बहुमतको सरकार बनाउन कांग्रेस–एमालेले चाहेका हुन् । नयाँ गठबन्धन संविधान संशोधनको एजेन्डासहित बनेकाले पनि सरकारलाई सहज दुई तिहाइ बहुमतको बनाउन लागिएको हो । संघीय संसद्का २ सय ७५ सदस्यमध्ये टोपबहादुर रायमाझी निलम्बित भएकाले १ सय ८४ संख्या जुट्दा दुई तिहाइ बहुमत पुग्छ ।