सुनाखरी न्युज/ काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजै सरकारी निवास बालुवाटार छोड्ने भएका छन् । प्रधानमन्त्री सचिवालयका अनुसार संसदमा विश्वासको मत लिने प्रक्रिया पूरा भएपछि उनी सिधै निजी निवास खुमलटार जाने भएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ११ पुस ०७९ मा प्रधानमन्त्री भएका थिए । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ ।