सुनाखरी न्युज/ काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले खतराको संकेत देखिएका जिल्ला र क्षेत्रमा रात्रि बस सञ्चालनमा रोक लगाउने निर्णय भएको संसदलाई जानकारी गराएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै लामिछानेले जल तथा मौसम विज्ञान विभागबाट जोखिमयुक्त क्षेत्र घोषणा गरिएका ठाउँमा रात्रि बस चल्न नदिने निर्णय भएको बताए।उनले भने, ‘सबैतिर रात्रिकालीन सवारी बन्द गर्ने होइन। रेड ट्राभल एड्भाइजरी जारी जिल्ला र क्षेत्रमा तत् तत् बेला सवारी नचलाउने हो।’
पहिरो जाने र डुबान हुने सम्भावना देखिएका जोखिमयुक्त क्षेत्रमा सडक विभाग र ट्राफिक प्रहरीले जोखिमका संकेत चिह्नहरू राख्ने पनि गृहको निर्णय छ।
बाढी, पहिरोबाट ३८ जिल्ला प्रभावित भएको गृहमन्त्री लामिछानेको भनाइ छ। बाढी पहिरोबाट पछिल्लो २४ घन्टामा १७ जनाको मृत्यु भएको उनले बताए।चितवनको घटनाबारे जानकारी पाउनसाथ गृहमन्त्रालयमा कमाण्ड पोष्टको आपत्तकालीन बैठक बसेको थियो ।