२०८१ मंसिर १ , शनिवार

प्रधानमन्त्री प्रचण्डले पाएनन‍् विश्वासको मत, सरकार ढल्यो

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो । असार १७ मा कांग्रेस र एमालेबिच नयाँ समीकरण बनेसँगै एमाले सरकारबाट बाहिरिएको थियो ।

त्यसपछि अल्पमतमा परेका प्रचण्डले एकै कार्यकालमा शुक्रबार पाँचौँ पटक विश्वासको मत लिएका हुन् ।तर, चार पटक विश्वासको मत पाउन सफल प्रधानमन्त्री यो पटक असफल बनेसँगै १८ महिना सत्ताको नेतृत्व गरेपछि प्रतिपक्षमा पुगेका छन् ।

प्रचण्ड २०७९ साल पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका थिए । एमालेसहित एक सय ६९ सांसदको समर्थनमा अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।प्रधानमन्त्री नियुक्त भएको १५ दिनपछि उनले पहिलोपटक २०७९ पुस २६ गते प्रतिनिधिसभाको जम्मा दुई सय ७० जना सांसदमध्ये दुई सय ६८ जनाको मत प्राप्त गरेका थिए । दुई जना सांसदले विपक्षमा मतदान गरेका थिए ।

संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्रीले शुक्रबार संसदको फेस गरेका हुन् ।