२०८१ मंसिर १२ , बुधवार

प्रधानमन्त्रीमा ओलीको नियुक्ति आइतबारमात्रै हुने

Kp-oli-1

सुनाखरी न्युज/ काठमाडौं ।

प्रधानमन्त्री पदमा  एमाले अध्यक्ष केपी शर्मा ओलीको नियुक्ति आइतबार मात्रै हुने भएको छ । ओलीले १६६ सांसदको समर्थनसहित शुक्रबार राति प्रधानमन्त्रीमा दाबी पेस गरे पनि नियुक्ति भने आइतबार मात्रै हुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

कांग्रेस र एमालेका १६६ सांसदको समर्थनबारे फाइल प्राप्त गरेसँगै राष्ट्रपतिले आवश्यक अध्ययन गरेर आइतबार मात्रै नियुक्ति गर्ने सचिवालयको भनाइ छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दावी पेस भएपछि अब नियुक्तिको विषय राष्ट्रपतिको भएको जनाए । यद्यपि आज भने नियुक्त हुन नसकेका उनले बताए ।

जसपा, जनमत, जसपा नेपाल, लोसपा र नागरिक उन्मुक्ति पार्टी कांग्रेस-एमाले गठबन्धनमै भए पनि ओलीले कांग्रेस र एमालेको मात्रै हस्ताक्षर लिएर प्रधानमन्त्रीमा दाबी पेस गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

प्रतिनिधिसभामा शुक्रबार  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि नयाँ सरकारको ढोका खुलेको थियो । प्रचण्डले राखेको विश्वासका मतको प्रस्ताव प्रतिनिधिसभाबाट अस्वीकृत भएपछि संसद् सचिवालयले दाहालले विश्वासको मत लिन नसकेको जानकारी राष्ट्रपति कार्यालयलाई गराएको थियो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गरेपछि ओलीको नेतृत्वमा सरकार बन्ने बाटो खुलेको थियो । संविधानको धारा ७६ (२) मा राष्ट्रपतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने व्यवस्था छ ।